काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा संसद्को जारी गतिरोध र समसामयिक राजनीतिक अवस्थाबारे गहन विचार–विमर्श भएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले संसद् सुचारु गर्न मध्यमार्गी समाधान खोज्नुपर्नेमा जोड दिएका थिए भने माओवादी अध्यक्ष प्रचण्डले विपक्षी र अन्य दलहरूसँग थप छलफल गरी आवश्यक निर्णय लिइने उल्लेख गरेका छन्।
छलफलमा माओवादीले प्रस्ताव गरेको दुई बुँदे मस्यौदामा एकीकृत समाजवादीले सहमति जनाएको छ। यो सहमतिले संसद्को गतिरोध अन्त्य गर्ने अपेक्षा गरिएको छ। भेटवार्तामा माओवादीका उपमहासचिवहरू वर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायत नेताहरू सहभागी थिए।







