काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्न सक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा राखेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा पार्टीकोतर्फबाट विचार राख्दै उनले रु. २० अर्ब राजस्व उठाउन सकिने बताउँदै अहिले ५० प्रतिशत राजस्व चुहावट भइरहेको जानकारी दिए ।
“बजेट तुलनात्मक रूपमा यथार्थपरक छ, निजी क्षेत्रका समस्या समाधान गर्न उन्मुख बजेट आएको छ, बजेटले आयोजनालाई प्राथमिकीकरण गर्न खोजेको छ, अनुत्पादक क्षेत्रमा ऋण लिनुहुँदैन, आवश्यक विषयमा ऋण लिन डराउनु पनि हुँदैन रु. तीन करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि रु एक हजारका आयोजना पनि आउनुले सरकारको निर्णय कार्यान्वयन नभएको देखिएको छ”, पूर्वमन्त्रीसमेत रहनुभएका सांसद आचार्यले भने ।
कृषि क्षेत्रमा अनुसन्धान हुन नसकेको उल्लेख गर्दै सांसद आचार्यले फौजी कीराकाबारेमा अनुसन्धान हुन नसकेको बताए । बजेटको वाक्यांशमा परेका विषय कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो ।
उद्योग क्षेत्रमा दक्ष जनशक्ति नभएर धेरै विदेशीलाई काम दिनुपरेको अवस्था, अर्कोतिर रोजगारी नपाएर समस्या भएकाले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्न पनि सांसद आचार्यले सरकारको ध्यानाकर्षण गराए । विद्यार्थी नभएर सामुदायिक विद्यालय खाली हुन थालेकाले रोजगारीमूलक शिक्षा दिने व्यवस्था मिलाएर दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्नुपर्ने उहाँको भनाइ छ । बजेटले पर्यटन क्षेत्रमा सुधार गर्न खोजेकाले त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने उनले बताए ।
लघुउद्यमका क्षेत्रमा तालिम दिने, स्टार्टअप पुँजीको व्यवस्था पनि गर्नुपर्नेमा सांसद आचार्यले सरकारको ध्यानाकर्षण गराए । उनले हाल वार्षिक रूपमा रु डेढ खर्बको एलपी ग्यासको आयात भइरहेकामा विद्युत्बाट त्यसलाई प्रतिस्थापन गर्ने गरी बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
अवैतनिक वाणिज्य दूतलाई व्यवस्थित रूपमा उद्देश्यअनुरूप परिचालन गर्नुपर्ने सुझाव सांसद आचार्यले दिए । उनले निर्वाचन क्षेत्र रणनीतिक सडकलाई समयमै निर्माण गरेर उदाहरणीय बनाउनुपर्ने आवश्यकता औँल्याए ।







