काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकका विभिन्न क्षेत्रको विपत् व्यवस्थापनका लागि बजेट अभाव हुन नदिने बताएका छन् ।
ललितपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको संयुक्त टोलीसँग आज भएको छलफलमा उपप्रधानमन्त्री पौडेलले बाढी पहिरोले उत्पन्न विपत्को यथाशीघ्र व्यवस्थापन गर्ने बताएका हुन् ।
विपत् प्राधिकरणसँग आवश्यक समन्वय गरी सम्बन्धित मन्त्रालयमार्फत बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले टोलीले राखेका सम्पूर्ण विषयमा आफू सकारात्मक रहेको र सोको सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।
नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणा नेतृत्वको उक्त टोलीले गत असोज ११ र १२ को बाढीका कारण क्षतिग्रस्त बस्ती तथा संरचनालाई तत्काल पुनर्निर्माणका लागि बजेट व्यवस्थापनको माग गरेको हो ।
टोलीले लेले-भारदेउ-चन्दनपुर-ठूलादुर्लुङ मोटर बाटोमा विनियोजित रू. २५ करोड बजेटलाई बहुवर्षीय योजनाका रूपमा सम्बोधन गरिदिन आग्रह गरेको थियो ।
सातदोबाटो-चापागाउँ र सातदोबाटो-गोदावरी बाटोको मुआब्जा तत्काल उपलब्ध गराउन उक्त टोलीले माग गरेको छ ।







