धरान । धरानका मेयर हर्क साम्पाङले बजेट ढिलाइको कारण श्रमदानबाट लगाइएका जाली र तिनको भुक्तानीमा भएको असमझदारी भएको बताएका छन् ।
धरानलगायत पालिकाहरूले समयमै बजेट ल्याउन नसकेको भन्दै चौतर्फी आलोचना पछि उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
‘हाम्ले बजेट ल्याउन नसक्नुको कारण बहुभाषिक पाठशाला जोगाउन श्रमदानबाट लगाइएको जाली, बगरकोटको पुल जोगाउन लगाइएको जाली, ठकुरी खोलाको पुल जोगाउन लगाइएको जाली र ती जालीको भुक्तानी बारे भएको घोर असमझदारी ! मेरो कोशिस जारी छ ! सबै जिम्मेवार नबन्दा यो भयो है !’ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत यस्तो भन्दै बजेट प्रस्तुत गर्न नसकेको कारण खुलाएका हुन् ।
संवैधानिक व्यवस्था अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्छ। तर, धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको विवादले बजेट समयमै पेस हुन सकेन। आइतबार बोलाइएको कार्यपालिका बैठकमा उपमेयर बेघासहित २८ जना कार्यपालिका सदस्यले कानुनी प्रक्रिया र तयारीको अभाव भएको भन्दै सहभागिता जनाएनन्, जसले बैठक स्थगित भयो।
राजस्व परामर्श समितिले वैशाख ३१ मा १ अर्ब ६० करोड १५ लाख ४८ हजारको बजेट प्रस्ताव गरेको थियो। तर, मेयर साम्पाङले छलफल नगरी बैठक स्थगित गरेको उपमेयर बेघाको आरोप छ।
नेपाल नगरपालिका संघका अनुसार, देशभरका २९३ नगरपालिकामध्ये २४ वटाले समयमै बजेट ल्याउन सकेनन्, जसमा धरान पनि परेको छ। कोशी प्रदेशमा धरान एक मात्र यस्तो नगरपालिका हो।
धरानमा लामो समयदेखि जनप्रतिनिधिहरूबीचको विवादले बजेट प्रक्रिया जटिल बनेको छ।







