काठमाडौँ । बागमती प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।
संसद सचिवालयले बैठक स्थगित हुनुमा ‘विशेष कारण’ भनेको छ । तर बजेटमा सत्तापक्षकै सांसदको तीव्र विरोधका कारण बैठक सरेको बताइएको छ ।
बुधबार बेलुका बसेको काँग्रेस संसदीय दलको बैठकमा नेपाली काँग्रेसका बागमती प्रदेश सभा सदस्यहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गर्दै गरेका थिए ।
बुधबार राति अबेरसम्म बसेको संसदीय दलको बैठकमा काँग्रेस सांसदहरुले मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै आलोचना गरेका हुन् । उनीहरूले बजेटमा बिचौलिया हाबी भएको र बिचौलियाको स्वार्थअनुसार बजेट विनियोजन भएको आरोपसमेत लगाएका थिए ।








