काठमाडौँ। प्रतिनिधि सभा सांसद डा. चन्द्रकान्त भण्डारीले संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा निजामती कर्मचारीको संख्या घटाएर सुविधा बढाउनुपर्ने बताएका छन्।
आइतबारको संसद् बैठकमा बोल्दै भण्डारीले डिल्लीराज खनालको प्रतिवेदनलाई उद्धृत गर्दै भने, “निजामती कर्मचारीको संख्या घटाउनुपर्छ र सुविधा बढाउनुपर्छ। अहिलेको सुविधाले कर्मचारीले काम गर्न र आफ्ना सन्तान पढाउन सक्दैनन्। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”
उनले कर्मचारी संख्या बढाउने प्रवृत्तिले मुलुकलाई फाइदा नगर्ने बताए। “हामी संख्या बढाउने बाटोमा गएका छौँ, यसले हामीलाई राम्रो गर्दैन,” उनले भने।
भण्डारीले प्रशासनमा सामान्य शिक्षाका व्यक्तिको बाहुल्यता रहेको र विशिष्ट क्षेत्रका विज्ञको अभाव रहेको औँल्याए। “हाम्रो प्रशासनमा सामान्य शिक्षा पढेका व्यक्तिको बाहुल्यता छ, तर डाक्टर र इन्जिनियरका लागि कोटा खुल्दैन। यसलाई ध्यान दिनुपर्छ,” उनले सुझाए।







