काठमाडौँ । विमानस्थलस्थित अध्यागमन कार्यालयले अध्यागमन प्रशासनलाई प्रविधिमैत्री र गुनासोरहित बनाउन अध्यागमन विभागलाई पत्राचार गरेको छ। प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले सोमबार बोर्डर कन्ट्रोल सिस्टम र नेपाली पोर्ट प्रणालीको एकीकरणसहित विभिन्न प्रणाली स्थापना गर्न तत्काल प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन् ।
पत्रमा एडभान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम मार्फत यात्रुको विवरण, उडान जानकारी, सुरक्षा जाँच, आगमन र प्रस्थान बिन्दुको जानकारी प्रदान गर्ने, इ-गेटको स्थापना, डाटा सेन्टर निर्माण, विदेशबाट राजस्व भुक्तानीको सुविधा र पर्यटक ट्र्याकिङ प्रणाली लागू गर्ने प्रस्ताव गरिएको छ। यी प्रणालीले अध्यागमन सेवालाई छिटो, पारदर्शी र सुरक्षित बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने कोइरालाले प्रशासनलाई बताए ।
‘यी प्रणालीको कार्यान्वयनले सेवाग्राहीका गुनासा न्यूनीकरण गर्न र नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन सहयोग पुग्ने छ,’प्रमुख अध्यागमन अधिकृत कोइरालाले भने ।







