२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै कवितासँग प्रतिस्पर्धा गर्दैछु -कवी डा. विमल कोइराला

अ+ अ-

विमल र म दुबै जना निजामती । उनी निजामती सेवाको उच्चतम तहमा पुगेर धब्बाहीन र निष्कलङ्क छविका साथ अवकाश भएका सुविख्यात राष्ट्रसेवक हुन् । म चाहिँ बल्लबल्ल मध्यम तहसम्म पुगेर अवकाश भएको गुमनाम पात्र हुँ । विमल मुख्यसचिव हुँदा म एक सय पाइला परको कुनै मन्त्रालयमा उपसचिव थिएँ । त्यही एक सय पाइला दूरीमा बसेर म उनको शान्त, शालीन तथा प्रतिभाशाली व्यक्तित्वको प्रशंसा गर्ने गर्दथेँ I सिंहदरबारमा रहुन्जेल म उनलाई भेट्न भनेर कहिल्यै पनि गइन । उनी मात्र होइन, दोहोरो चिनारी भएका र एउटै विद्यालय एवं क्याम्पसमा पढेका मुख्यसचिवलाई पनि कहिल्यै भेट्न गइन ।

व्यावसायिक जीवनमा व्यक्तिगत भेटघाट गर्न जान उचित लागेन मलाई । भेटघाट गर्नका लागि निजामती जीवनभन्दा साहित्यिक जीवन सहज हुँदो रहेछ । कवित्वको नाता समातेर भेट्न गएपछि प्रचलित ‘निजामती सङ्कोच’ बाट पनि मुक्ति मिल्यो । म कवि विमल कोइरालासँग बडो दिल फुकाएर वार्तालाप गर्न समर्थ भएँ ।

विमलले असङ्ख्य कविता लेखेका छन् । तीमध्ये केही चार वटा पुस्तकमा प्रकाशित छन् । केही सायद प्रकाशोन्मुख छन् र केही डायरीको पानामा सङ्गृहीत छन् । विमल अरू मानिसझैँ फटाफट बोल्दैनन् । उनी बडो सुन्दर तवरले हतार नगरी बिस्तारै बोल्छन् । वाणीको शालीनता पनि उनको व्यक्तित्वको सुमधुर पक्ष हो ।

एक दिनको भेटमा मैले उनलाई कविता वाचन गरेर सुनाउन अनुरोध गरेँ । उनले सङ्ग्रहमा एक प्रति मात्र बाँकी रहेको ‘मौन शिविरबाट’ नामक पुस्तक निकाले । उनको हार्दिक सौम्यता देख्दा मलाई ब्युरोक्रेसी जस्तो शुष्क फाँटमा झन्डै तीन दशक बिताएको मानिसको चित्तमा कविताकै कारण नै कठोरता र मालिन्यले प्रवेश पाउन नसकेको रहेछ भन्ने महसुस भयो ।

किताबको पाना पल्टाएपछि उनी कवितामै तन्मय भए । सुरुमा उनले ‘मेरो बाबु’ शीर्षक कविता वाचन गरे ।

‘मेरो बाबु
मेरै अराजक शासन सहेर बसेको छ
मेरो बाबु
मेरै उपनिवेशको शरणार्थी भएर बसेको छ
मेरो बाबु
कैदीको जस्तो सेतो कमिज सुरुवालको पहिरनमा
आफ्नो घर दलानमा बन्द छ …..।’
अनि उनी ‘आमा’ शीर्षक कविता वाचन गर्न थाले –
‘जसका गहिरा आँखाभित्रको
सौम्य सागरमा
असङ्ख्य युद्ध पचाउने शक्ति छ
जहाँ कचेरा पग्लिएर रगत बन्छ
जहाँ…..’
‘ज्याक ! कमसेकम यो त विचार गर’ शीर्षक कविता सुनाउँदै उनी भन्दै गए –
‘ज्याक !
( कुनै पश्चिमा देशलाई इङ्गित गर्दै )
तिमी प्रणालीभित्रको नीति सुधार्ने कुरा गर्छौ
हामी प्रणाली बसाल्ने सम्भाव्यताको कुराको लख काट्छौँ
तिमी नयाँ व्यवस्थापन प्रणाली र त्यसको असरको कुरा गर्छौ
हामी शब्द नै पहिलो पल्ट सुनेझैँ वाल्ल पर्छौँ ….’

आधा घण्टाको कविता सुनाइमा कहिले आँखा भिजे, कहिले तत्कालीन सत्ता सम्झेर खिन्न भएँ र कहिले विमलका शब्द शब्दमा विस्मित थिएँ । कविता वाचन गर्दै गर्दा उनी कवित्वको भावातिरेकमा स्वयं कविताझैँ लाग्दथे ।

यसै सङ्ग्रहमा समाहित ‘ध्रुवे उर्फ ध्रुवबहादुर’ शीर्षक कविता पढेर त्यस बखतका धेरै कविहरू रन्थनिए । सहसा हृदयले भन्यो होला, ‘यस्तो पो कविता !’ कतिले ध्रुवेकै तर्जमा भिन्न शीर्षक राखेर कविता लेखे । भिन्न शीर्षक राखेर ध्रुवेसँग सरूपता झल्कने कविता लेखेबापत कसै कसैले ‘नक्कल गरेको’ आरोप पनि खेपे । हुन पनि यो कविता असहाय र अकिञ्चनप्रति करुणामा बहेको आँसु जस्तो लाग्छ । ध्रुवे पनि मानिस हो । परन्तु उसले कतैबाट पनि मानवीय व्यवहार पाउँदैन । कसैले ध्रुवेलाई खेतमा देख्छ, कसैले ध्रुवेलाई होटेलमा भाँडा माझिरहेको देख्छ त कसैले भारी बोकिरहेको । जति स्थान, नाम र रूपमा देखिए तापनि ध्रुवे एउटै छ ।

कविताको आरम्भ करुणाबाट भएको मानिन्छ । मनुष्य मात्र होइन, चराचुरुङ्गी, पशु, वन, पहरा, हिमाल, नदी र माटो जस्ता प्राकृतिक वस्तुमा पनि कविको कारुण्य रसाउँछ । यौन क्रियामा निरत पक्षीको जोडीमाथि हतियार चलाउने सिकारीको कृत्यमा अत्यन्तै क्षुब्ध भएका वाल्मीकिको मुखबाट अकस्मात् यस्तो श्लोक निस्केको थियो ।

मा निषाद प्रतिष्ठा त्वम् अगम: शाश्वत समा:
यत्क्रौञ्चमिथुनादेकम् अवधीः काममोहितम्

‘हे निषाद ! तिमी कहिल्यै प्रतिष्ठित ( शान्त र सुखी ) हुने छैनौ, किनकि तिमीले प्रणयशील क्रौञ्च पक्षीमध्ये एकलाई वध गरिदियौ ।’ यही नै रामायणको प्रथम श्लोकको रूपमा स्थापित भयो र वाल्मीकि स्वयं संस्कृत वाङ्मयका आदिकविका रूपमा प्रतिष्ठित भए ।

कविताको मूल धन करुणा हो । प्राचीन कविहरूले राजा – महाराजाको कीर्तिको गान गर्नकै लागि कविता लेखे पनि त्यहाँभित्र प्रेम, संयोग, वियोग, आँसु र रोदनलाई अन्तर घुलन गरेर पठनीय बनाउँथे । पछिल्लो समयका कवितामा विद्रोहको स्वर समेत गुञ्जन थाल्यो । सामाजिक विसङ्गति, शोषण, विभेद र वञ्चनाविरुद्ध कविताको भाषामा विद्रोहको घोषले यसलाई अझै उन्नत बनाउँदै गयो ।

विमलका कवितामा पनि कतै करुणा र कतै विद्रोहको स्वर झङ्कृत भएको पाइन्छ । विमलका कवितामा भावनात्मक छटपटाहट छ । त्यहाँ बनावटी प्राज्ञिक चेष्टा कत्ति पनि छैन । हृदयको गहिराइबाट निसृत शब्दहरू आफै सलल बहन्छन् । कविको भाव चक्षुले जुन शब्द देख्छ, त्यसैलाई टपक्क टिपेर थपक्क राखिदिन्छ ।

पञ्चायतकालीन कथित स्वतन्त्रतालाई विमल ‘अधीनस्थ स्वतन्त्रता’ भन्छन्, जहाँ मालिक आउँदा पुच्छर हल्लाउनु पर्थ्यो । उनी पञ्चायतका जागिरे थिए । उनलाई अभिव्यक्तिको सीमा राम्ररी थाहा थियो । त्यसै हुँदा उनले कविताको बाटो रोजे । नवयौवनको समय, विद्रोही चेतनामय प्रतिभा, के गरूँ र कसो गरूँको बेचैनी र पञ्चायतको निजामती नोकरी । सर्वसाधारणले समेत प्रचलित राजनीतिक पद्धतिबारे प्रश्न उठाउन नसक्ने त्यो समयमा सरकारी कर्मचारीको के कुरा । विमलको छातीभित्र बलिरहने विद्रोहको अग्निलाई सरकारी नोकरीले शमन गर्न सकेन । उनले कवितालाई आफ्नो विद्रोहको आगो ओकलेर चित्त शान्त पार्ने उपायको रूपमा अङ्गीकार गरे ।

विमल जसरी ध्रुवेमा करुणासिक्त बनेका छन्, त्यसै गरी ‘कुकुर’ र ‘माधवजी ! तपाईँ ….’ शीर्षक कवितामा चाकरीवाजको खिल्ली उडाएका छन् । ‘कागे शरीरमा मयुरका पङ्ख सिउरेर’ नाच्ने पात्र माधवको चरित्रको व्यङ्ग्यात्मक बखान गज्जबको छ । टुक्राको लोभमा कुकुरले झैँ पुच्छर हल्लाउने चाकरीदारको त उनले धज्जी नै उडाएका छन् । एउटा कुकुर कुकुर नै त हो, जसबाट लिनु जति काम लिएपछि ‘नगर पञ्चायतको ट्र्याक्टर’मा मिल्क्याइदिए पनि भयो । सायद यी कविता लेख्दा कविको प्रज्ञाचक्षुले अमुक पात्रहरूको अनुहार देखिरहेको थियो ।

संसारको हरेक व्यक्तिमा कवित्व हुन्छ । तर त्यसको ‘पासवर्ड’ कसै कसैसँग मात्र हुन्छ । विमलभित्र प्रखर कवित्वको निवास थियो । सौभाग्यवश उनी कविताको पासवर्डका ज्ञाता मात्र होइन, एन्टेना मिलाउनमा पनि प्रवीण थिए । उनले सचेत बनेर गरेको काम भनेको पासवर्ड राख्ने र एन्टेना मिलाउने मात्र हो भने अरू सबै कुरा भावको स्फोट । त्यो स्फुटन नियोजित थिएन । त्यो त संवेदनाको अतल गहिराइबाट निस्केर पोखिएको दिव्य वाणी थियो । सायद भाव पोखाइको त्यो सिलसिलामा कविलाई के ओकल्दै छु भन्ने पनि थाहा भएन ।

एउटा सूक्ति भन्दछ –
अमन्त्रमक्षरं नास्ति, नास्ति मूलमनौषधम्
अयोग्य: पुरुषो नास्ति, योजकस्तत्र दुर्लभ:

यहाँ अयोग्य त कोही पनि हुँदो रहेनछ । मुख्य कुरा रहेछ योजक बन्नु । विमलले प्रयोग गर्ने शब्द सबैले बुझ्ने खालका हुन्छन् । उनले निर्वहन गर्न सकेको योजकको भूमिका भनेकै लीलारसले युक्त शब्दावलीको संयोजन हो । योजकीय गुण भएका लेखकमा अनियोजित शब्द छनौटको क्षमता हुँदो रहेछ । धागोमा सिलाएर सुन्दर माला उन्नका लागि किसिम किसिमका फूल जम्मा गर्नु मात्र पर्याप्त हुँदो रहेनछ । मुख्य कुरा त कुन फूल कहाँनिर छिराउने भन्ने कुशाग्रता चाहिँदो रहेछ ।

विमल लेख्छन्,
‘जस्तो देख्छ त्यस्तै बोल्नु पर्ने हो
मेरो कविताले
तर हरियो चस्मा लाइदिँदा पराललाई घाँस भन्छ
मेरो कविताले’
‘….ऊ यहाँको मास्टर हो
ओहदाहीन चिनाउन कठिन ऊ
ठालु समाजको तिरस्कृत चरित्र हो…’
‘आँखा:
डाही भएर पनि हिँड्नु हुँदैन आँखाले
छ्याप्नु हुँदैन हिलो आकाशमा
त्यस्तो हुन्छ भने त
आँखा धृत राष्ट्रकै जाती बरु ……’

मानसिक द्वन्द्व र उद्वेलनलाई पोखिदिने एउटा स्वीकार्य जरिया, जहाँ जसलाई घोच्न खोजिएको हो, उसैले समेत ऐया भन्न पनि एकान्त खोज्नुपर्ने परिस्थितिको निर्माण हुन्छ ।

विमलको यस किताबमा सङ्गृहीत कविता २०३४ देखि २०४३ सालसम्म रचना गरिएका हुन् । उनले यी कविता लेख्न सुरु गरेको पाँच दशक पुग्न लागिसक्यो । किन्तु सबै कविता अझै पनि युगीन चेतनाका वाहक बन्न सफल छन् । आजभन्दा करिब पचास वर्षअघि नै उनले रोबोट र कम्प्युटर सम्बन्धी कविता लेखेका छन् । यस कविता सङ्ग्रहमा विमल सामयिक चेतनाका प्रतीक मात्र होइन, युग द्रष्टा समेत बनेर उदाएका छन् । यो सङ्ग्रह अचेल दुर्लभ छ । मेरो विचारमा यसको अर्को संस्करण आउनु जरुरी छ ।

विमलको कवित्वले आफ्नो समयमा निकै चर्चा पायो । मदनमणि दीक्षित, क्षेत्र प्रताप अधिकारी, खगेन्द्र सङ्ग्रौला, विमल निभा, दिनेश अधिकारी र राजव आदि विमलका कविताका प्रशंसक थिए । पारिजातले त एउटा अन्तर्वार्तामा ‘विमल मलाई मन पर्ने कवि हो । उसका कविता पढ्दा उसले कसैसँग सम्झौता गर्नुपर्छ जस्तो लाग्दैन’ भनेर प्रेरणा दिएकी थिइन् । प्राडा गोविन्दराज भट्टराईले आफ्नो विद्यावारिधिको सामग्रीमा विमलको कविताको अनुवाद गरेका थिए । हरिभक्त कटुवालले विमललाई ‘यस पुस्ताका उल्लेखनीय कवि’ भनेर प्रशंसा गरेका थिए । विमलका अलिकता पछिल्लो समयका कवि मित्र श्यामल र मीनबहादुर बिस्ट हुन् ।

विमल भन्छन्, ‘२०४३ सालपछि जागिरको कामले थिच्दै जाँदा कविता लेख्ने क्रम पातलो हुँदै गयो ।’ उनी यदाकदा अहिले पनि कविता लेख्छन् । ‘अहिले पनि २०३० को दशकमा जस्तै कविता लेख्न सक्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘गाह्रो छ नि ! म आज आफ्नै पुराना कवितासँग प्रतिस्पर्धा गर्दै छु । नढाँटी भन्दा अचेल म मेरै कविताबाट पराजित जस्तै छु ।’ कति सुन्दर, सार्थक र प्रेरणादायी प्रतिस्पर्धा । अरू कसैसँग नभई आफूसँग आफै प्रतिस्पर्धी हुन पाउनु पनि जीवनको सफलता हो । त्यो पनि कविताको माध्यमबाट ।

अन्तमा – कविता त्यो भावोद्दीपक चेतना रहेछ, जहाँ कविको हृदय नै शब्द बनेर बाहिर प्रकट हुन्छ । कविताले कविको आत्मालाई सबैले देख्ने गरी सतहमा ल्याइदिँदो रहेछ ।