भक्तपुर । नेपाली भाषा तथा साहित्यको समृद्धिमा समर्पित संस्था नेपाल साहित्य मन्दिर, भक्तपुरले वरिष्ठ साहित्यकार सुलोचना मानन्धरलाई “जरिमैयाँ साख: लुमन्ति सिरपा” स्मृति पुरस्कार र वरिष्ठ सिनेकर्मी तथा साहित्यकार विजयरत्न असंवरेलाई “कुमार साख: हपा: सिरपा” पुरस्कार प्रदान गरेको छ।
पुरस्कार समर्पण कार्यक्रम भक्तपुर दुधपाटीस्थित सिद्ध पोखरी पार्टी प्यालेसमा एक विशेष समारोहबीच सम्पन्न भएको छ । कार्यक्रममा नेपाल साहित्य मन्दिरका संस्थापक एवं वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।
सो अवसरमा कायस्थले जरिमैयाँ साख: स्मृति पुरस्कार र कुमार साख: प्रोत्साहन पुरस्कारको स्थापना र उद्देश्यबारे प्रकाश पार्दै भने, “नेपालभाषा साहित्यको सिर्जना र नयाँ स्रष्टाको उदयमा यस संस्थाले महत्वपूर्ण योगदान पुर्याएको छ।”
कार्यक्रमका सभाध्यक्ष एवम् नेपाल साहित्य मन्दिरका अध्यक्ष त्रैलोक्यमान बनेपाली ‘अगिव’ले संस्थाले विगत १५ वर्षदेखि निरन्तर पुर्याउँदै आएको साहित्यिक योगदानको चर्चा गर्दै भने, “नेपालभाषा मात्र नभई मातृभाषा नै राष्ट्रको सम्पदा हो। यसलाई संरक्षण र प्रवर्द्धन गर्न सबै पक्षको सहकार्य आवश्यक छ।”
उनले महिला कवयित्रीहरूको उल्लेखनीय उपस्थिति र उदाउँदो क्षमताले जरिमैयाँ साख: पुरस्कारको औचित्य पुष्टि गरेको उल्लेख गरे। साथै, “कुमार साख: धनले हैन, मनले ठूला भएकोले” पुरस्कारको गरिमा अझ बढेको बताए।
पुरस्कार ग्रहण गर्दै वरिष्ठ साहित्यकार सुलोचना मानन्धर र विजयरत्न असंवरेले आभार व्यक्त गरेका थिए । उनीहरूले साहित्य सिर्जनामा निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा नेपालभाषा एकेडेमीका सचिव महेन्द्र गोपाल कर्माचार्य र समाजसेवी कृष्णलाल प्रधानले अतिथिका रूपमा आफ्नो भनाई राखेका थिए ।
साहित्यिक प्रस्तुतिको रूपमा कविहरू प्रतिसरा सायमी, सुलोचना सैँजु, हिसिलिना शाक्य, रेजिना नकस्मि मानन्धर, विनिता शाक्य, विना नेमकुल, मञ्जु श्रेष्ठ, दिव्या बज्राचार्य, विमला मानन्धर, मिलन शाक्य, पूर्णिमा शाक्य, रिता महर्जन र मिमिला शर्माले कविता वाचन गरे । कार्यक्रममा गुहेश्वरी शाक्यले स्वागत गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रम सञ्चालन नेपाल साहित्य मन्दिरका सचिव हरिशरण शर्मा राजोपाध्यायले गरेका थिए भने सदस्य रामनारायण प्रजापतिले स्वागत मन्तव्य र उत्तमनारायण मल्लले कृतज्ञता ज्ञापन गरेका थिए ।







