काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक १२ घण्टादेखि जारी छ ।
बिहान साढे ७ बजेदेखि सुरु भएको दिउँसो साढे १२ बजेतिर खाना खानका लागि ब्रेक भएको थियो । खाना समयमा सांसदहरू केही बेर आन्तरिक छलफलमा समेत जुटे । सत्तापक्षका सांसदहरूले एमाले संसदीय दलको बैठकमै पुगेर पार्टीका नेताहरूको राय लिए ।
त्यसपछि पुनः सुरु भएको बैठक जारी छ । छानबिन विशेष समितिका सभापति जीवन परियार आज अन्तिम दिन रहेकाले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी छ । यस निम्ति बैठक लम्बिएको हो ।
गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि एक साता थपिएको थियो । थपिएको म्याद आज राति १२ बजे सकिँदै छ ।
छानबिन समितिमा समितिमा नेपाली काँग्रेस र नेकपा एमालेबाट दुई-दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक-एक जना रहेका छन् । काँग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा ९एमाले० बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
आज प्रतिवेदनलाई अन्तिम रूप दिएर भोलि प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गर्ने तयारी छ । यस निम्ति बैठक १२ घण्टादेखि जारी रहेको छ ।







