काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले भूमिमा देखिएको समस्या समाधानको पहल गरिरहेको बर्ताका छन्।
आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा भूमि अधिकार तथा श्रमिक संगठन , नेपालको आयोजनामा “भूमिको समस्या समाधान, आयोग एवं सरोकारवालाको भूमिका” विषयक अन्तरसंवादमा उनले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि समस्या समाधान गर्ने काम गरिरहेको बताए ।
“भूमिसम्बन्धी समस्या अहिले राखेर पछि गरौँला भन्ने पक्षमा सरकार छैन । पछि पनि भूमिको समस्या भइरहन्छ”, उनले भने, “त्यसैले सरकार जतिसक्दो भूमि समस्या समाधान गर्न खोजिरहेको छ ।”
महासचिव पोखरेलले एमाले पार्टीले भूमिमा देखिएका समस्या समाधान गर्ने कुरामा पूर्ण सहयोग रहेको बताए ।
उनले भूमिहीन उपेक्षित वर्गलाई अधिकार दिन कुनै राजनीतिक दलले हिचकिचाउन नहुने बताए । उनले भूमि सुकुम्वासीलाई भूमिको अधिकार राज्यले प्रदान गर्नुपर्नेमा जोड दिए ।
महासचिव पोखरेलले भूमि आयोगलाई काम गर्ने वातावरण बनाइदिएर अहिले भूमिको समस्या समाधान गर्न आग्रह गरे । “अहिले सबैभन्दा उपयुक्त समय रहेको छ । भूमि आयोगलाई काम गर्ने सक्ने बनाउने जिम्मेवारी राजनीतिक दलको हो” उनले भने, ।
कार्यक्रममा श्रमिक संगठनका इन्चार्ज शान्ता चौधरीले भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । श्रमिक संगठनका अध्यक्ष इन्द्र तामाङले भूमि आयोगबाट भूमिहीनका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।







