काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए पनि आक्रोशित जेन जेड हरूले आन्दोलन जारी राखेका छन्।
सिंहदरवारको मुख्य गेट, संसद भवन, सर्वोच्च अदालतलगायत नेपाल प्रहरीका विभिन्न विटमा प्रदर्शनकारीहरूले मंगलबार आगजनी तथा तोडफोड गरेका छन्। कडा सुरक्षा व्यवस्थाबीच पनि उनीहरूले सरकारी संरचना र सार्वजनिक भवनहरूमा आगो लगाएका छन्।
अहिले काठमाडौँसहित देशभरका प्रमुख शहरहरू तनावग्रस्त बनेका छन्। बिहानैदेखि प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलगायत शीर्ष नेताहरूको घरमा समेत आगजनी गरिरहेका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार सुरु भएको जेनजेड आन्दोलनमा सरकारी दमनका कारण १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। यही दमनको विरोधमा मंगलबार पनि देशभर आन्दोलन चर्कँदै गएको छ।







