काठमाडौँ । कपिलवस्तु कारागारमा रहेका ४३१ कैदी बन्दीहरूले आज बिहान कारागारको गेट तोडेर भागेका छन् ।
बिहान करिब ६ बजेतिर कारागारका २ ब्लकमा रहेका ४५९ कैदी बन्दीमध्ये ४ सय ३१ जना भागेका हुन् । सो कारागारका २ ब्लकमा २८ जना कैदी बन्दीहरू भने कारागारबाट नभागेको कारागारले जनाएको छ ।
कारागारबाट भागेका कैदी वन्दीले जिल्ला अदालत कार्यालय पुगेर अदालत कार्यालयका विभिन्न कोठाहरूमा तोडफोड तथा आगजनी गरेका छन् । बेल्चा, हथौडा, पेट्रोल लगायतका सामाग्री बोकेर आएका कैदी वन्दीहरूले अदालतमा आगजनी गरेका हुन् । आफूहरूको मुद्दाका सबै मिसिल तथा कागजपत्रहरू यसै अदालतमा रहेको हुँदा सो नष्ट गर्न आफूहरूले आगजनी गरेको एक कैदीले बताएको अदालत स्रोतले जानकारी दिएको छ ।







