काठमाडौँ । प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ प्रधानमन्त्रीसम्म चुनिएका परिस्थितिमा समेत आधा दर्जन बढी मन्त्रालयले आफ्ना वेवसाइटहरूमा अझै पुरानै मन्त्रीहरूको नाम र फोटो राखिरहेका छन्। करिब दुई दर्जन मन्त्रालयमध्ये सात वटा मन्त्रालयले समयमै अद्यावधिक नगरेको पाइएको हो।
शनिबार बिहानसम्म अर्थ मन्त्रालयको वेवसाइटमा अझै पनि “माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री” भन्दै विष्णुप्रसाद पौडेलकै फोटो राखिएको छ। यस्तै, सरकारका प्रवक्ता तथा सञ्चार मन्त्रीमा पृथ्वी सुब्बा गुरुङकै नाम कायम छ भने शहरी विकास मन्त्रालयको वेवसाइटमा पनि “माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री” भनेर प्रकाशमान सिंहकै नाम उल्लेख छ।
त्यसैगरी, सिंचाई मन्त्रालयले अझै “माननीय मन्त्री” भन्दै दीपक खड्काको नाम राखेको छ भने खानेपानी मन्त्रालयले पनि मन्त्रीमा प्रदीप यादवकै फोटो राखिरहेको छ। महिला मन्त्रालयको वेवसाइटमा नवल किशोर साह सुडीकै फोटो कायम छ।
प्रविधि र सूचना–प्रविधिलाई निकै जोड दिएको र करोडौं खर्च गरिसकेको भएपनि सामान्य मन्त्रालयका वेवसाईटसमेत अपडेट नहुनुलाई के भन्ने ? यति ठूलो आन्दोलन र बलिदानीबाट देशको सर्वोच्च कार्यकारी नेतृत्व परिवर्तन भइसकेपछि समेत मन्त्रालयहरूले समयमै आफ्नो सूचना प्रणाली अद्यावधिक नगर्नु विडम्बना भएको कर्मचारीहरू बताउँछन्।
यद्यपि, अधिकाँस मन्त्रालयहरूले भने नयाँ प्रधानमन्त्री सुशिला कार्की नियुक्त भएसँगै आफ्नो वेवसाइटमा कार्कीको फोटो राखिसकेका छन्।












