काठमाडौँ । संघीय संसद्का दुई सदनको बैठक अब नयाँ बानेश्वरको संसद् भवनमा नबस्ने भएको छ।
जेन जेड प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त संघीय संसद् भवनको निरीक्षण गर्दै अन्तरिम सरकारका मन्त्रीहरूले संसद् भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने भए पनि संघीय संसद्को बैठक अब नयाँ भवनबाट सञ्चालन गरिने जानकारी दिएका हुन्।
निरीक्षणपछि ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आगामी पुससम्म सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको काम सम्पन्न हुने र त्यही नै संसद्को बैठक बस्ने जानकारी दिए। नयाँ निर्वाचित हुने सांसदहरूले अब सिंहदरवारकै संसद् भवनबाट काम गर्ने उनले बताए।
उनले आन्दोलनकारीको आक्रमण र आगजनीबाट ध्वस्त भएको बानेश्वरको भवन पनि पुरानै स्वरूपमा निर्माण गरिने बताए।
मन्त्री घिसिङले तत्कालै सरसफाइ कार्य सुरु गरेर डिजाइनको प्रक्रियामा अघि बढ्ने र अल्पकालीन दीर्घकालीन योजनामा पुनर्निर्माण सुरु गरिने दाबी गरेका छन्।
मन्त्री घिसिङका साथै अर्थमन्त्री रामेश्वर खनाल, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले संसद् भवनको निरीक्षण गरेका थिए।
गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेन जेड प्रदर्शनका क्रममा प्रदर्शनकारीले संसद् भवनलाई मुख्य निशाना बनाएका थिए। संसद् भवन पूर्णरुपमा जलेर ध्वस्त भएको छ।







