काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले हालैको जेन जेड आन्दोलनलाई दलहरूले देशका लागि गरेको योगदानलाई शून्य देखाउने ‘दुष्प्रयास’ को संज्ञा दिएका छन्।
बिहीबार बिहान काँग्रेस संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवसको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले यस्तो धारणा राखेका हुन्।
उनले आन्दोलनका क्रममा भएका गतिविधिहरूको निष्पक्ष छानबिन गर्नसमेत माग गरेका छन्।
जे-जी आन्दोलनको कभरअपमा दल र दलले गरेको जुन योगदान रहेको त्यो योगदान केही होइन भनेर देखाउने दुष्प्रयास भइरहेको दाबी गरे । साथै उनले अहिले यसको राम्रोसँग छानबिन गर्न आवश्यक रहेको बताए ।
उनले यस्ता प्रयासप्रति सरकार र राजनीतिक दल दुवै सजग हुनुपर्नेमा जोड दिए। उनले पिता गणेशमान सिंहको योगदानको स्मरण गर्दै प्रजातन्त्र स्थापनाका लागि दलहरूले गरेको संघर्ष र बलिदानलाई अवमूल्यन गर्न खोजिएको बताए।
‘जनतालाई अधिकार दिलाउन उहाँ (गणेशमान)ले गर्नुभएको योगदान महत्त्वपूर्ण छ। उहाँले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभयो। दलहरूले कति धेरै संघर्ष गरेका छन् भन्ने कुरा यस्ता तथ्यबाट थाहा हुन्छ।’सिंहले भने ।







