काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट जोगाउन पार्टीहरूको नीति र नेतृत्व पुनर्गठन आवश्यक रहेको प्रस्ताव राखेका छन् ।
पार्टी सचिवालयको बैठकमा भुसालले जेनजी विद्रोहको पृष्ठभूमिबारे लामो व्याख्या गरेका छन् ।
युवाहरूको आवाजलाई हेप्ने र दबाउँदै भ्रष्टाचारका काण्डहरू नरोकिनुको परिणाम जेनजी विद्रोह भएको उनको निष्कर्ष छ । दलका नेताहरूले गल्तीलाई निरन्तरता दिइरहने र ‘पुराना पार्टी, पुराना नेता’ विरुद्धको अभियान चल्दै जाँदा यो विनाश निम्तन पुगेको उनले आफ्नो प्रस्तावमा लेखेका छन् ।
जेनजी विद्रोहको कारणबारे घटनाक्रमहरू समेटेर भुसालले समाधानमा पुनर्गठनको प्रस्ताव गरेका छन् । ‘‘मुलुकको रूपान्तरणकारी नीति-कार्यकक्रमका आधारमा राजनीतिलाई अगाडि बढाउन र मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउनका लागि आजको पहिलो शर्त अहिलेका पार्टीहरूको जण्ड पुनर्गठन हो,’ उनले लेखेका छन्, ‘नीति र नेतृत्वको पुनर्गठन हो । नेता र पार्टीहरूले समयको पदचाप सुन्न र बुझ्न नसक्दा राष्ट्रहरूले ठूलठूला धक्काहरू खाएका छन् । हामी आफै पनि त्यसका भुक्तभोगी हौँ ।’
सबै पार्टीहरू पुनर्गठन नगरी जनतामा जान सम्भव नरहेको पनि उनको ठम्याइ छ । ‘हाम्रा सबै पार्टीले आज वा भोलि पुनर्गठन नगरीकन जनतामा जान किमार्थ सम्भव छैन । यस विषयमा पार्टीब्यापी छलफल चलाउन तयार होऔँ,’ उनको प्रस्ताव छ, ‘यो मुख्य विषयलाई गलैचामुनि राखेर अरु विषयलाई अगाडि राख्न थाल्यौँ भने दुनियाँले हामीलाई दुत्कार्ने छ ।’







