काठमाडौँ । अर्थ मन्त्रीसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका रामेश्वर खनालले आज मध्यान्ह मन्त्रालयमा पद बहाली गरेका छन्। पद बहाली कार्यक्रममा उनले कर्मचारी प्रशासनलाई जनमुखी र जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याउँदै पारदर्शिता, दक्षता र इमानदारीलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिए।
पद बहालीपछि संक्षिप्त निर्देशन दिँदै उनले अवाञ्छित इच्छा नराख्ने स्पष्ट गर्दै भने, “जेन जेड पुस्ताले भ्रष्टाचार नियन्त्रण र सेवा सुधार नै माग गरेको हो। तलब–सुविधा कम भयो भन्ने बहानाबाजी गर्नु उचित होइन।” उनका अनुसार कर्मचारीले दक्षता र इमानदारीमार्फत मात्र सेवा सुधार सम्भव छ र त्यसकै आधारमा जनताको विश्वास निर्माण हुन्छ।
खनालले विगतका कमजोरीका कारण कर्मचारीहरूको क्षमता पूर्ण रूपमा प्रस्फुटन हुन नसकेको औँल्याउँदै अब भने कर्मचारीको आत्मसम्मानमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले जोड दिँदै भने, “कर्मचारीले आफ्नो काममा इमानदारी र उत्तरदायित्व देखाए मात्र जनताको विश्वास जित्न सकिन्छ।”

३१ वर्ष ६ महिना लामो निजामती सेवामा बिताएका खनालले तत्कालीन सरकारसँगको मतभेदपछि २०६७ सालमा अर्थ सचिवको पदबाट राजीनामा दिएका थिए। पूरक बजेटसम्बन्धी विषयमा तत्कालीन अर्थमन्त्री भरत मोहन अधिकारीसँग कुरा नमिल्दा उनले एक वर्ष कार्यकाल बाँकी छँदै पद त्याग गरेका थिए। अब उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रत्येक दिन करिब दुई घण्टा समय दिने बताएका छन्।
मन्त्री खनालले अन्ततः कर्मचारी प्रशासनलाई नतिजामुखी बनाउन सरकार गम्भीर रहेको र आफू त्यसै अनुरूप अघि बढ्ने दृढता व्यक्त गरेका छन्।
जेन जेड आन्दोलनपछि अपदस्थ केपी शर्मा ओली नेतृत्वको सरकारलाई प्रतिस्थापन गर्दै बनेको सुशीला कार्की नेतृत्वको गैर दलीय सरकारमा पूर्वअर्थसचिवसमेत रहेका खनाल अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका थिए । त्यति बेलै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षसमेत बनेका खनालले पाँच महिनाअघि मात्रै प्रतिवेदन बुझाएका थिए। अब त्यस प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारीमा पनि उनी पुगेका छन्।

दोस्रो पटक मन्त्रिमण्डल विस्तारका क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेतको जिम्मेवारी पाएका खनाल कर्मचारीका लागि नयाँ अनुहार होइन । कर्मचारीतन्त्रलाई राम्ररी बुझेका मात्र होइन, भुक्तभोगीसमेत रहेका खनालप्रति सुधारको ठूलो अपेक्षा गरिएको छ। पछिल्लो समय इमान्दार छविका सचिव रविलाल पन्थले आन्तरिक व्यवस्थापन र सरुवामा सुरु गरेको सुधार प्रक्रियालाई अझ मजबुत र दरिलो बनाउँदै, विगतको अस्थिरता र अनियमितताको ट्यागलाई अन्त्य गर्नुपर्ने आवश्यकता रहेको कर्मचारीको धारणा छ।







