काठमाडौँ । महानवमीको दिन आज साँझ भक्तपुरमा महिषासुर राक्षसलाई मारेर मनाइने ख:मेय् अर्थात् राँगो जात्रा सम्पन्न भएको छ ।
धार्मिक मान्यताअनुसार महिषासुर राक्षसको प्रतीकका रूपमा गठेमंगलका दिन ख:मेय् अर्थात् राँगोलाई ल्याएर नवदुर्गा मन्दिर बाँधेर राख्ने र सोही राँगोलाई आज मन्दिरदेखि दौडाएर ब्रम्हायणी मन्दिर पुर्याएर त्यसको बध गरी जात्रा मनाउने प्रचलन रहेको छ ।
नवदुर्गा भवानीलाई चढाइने ख:मेय्को टाउकोमा दुई चक्रसहित शरीरमा सात वटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, १०० धार्नी तौल भएको राँगो चाहिने मान्यता रहँदै आएको छ ।
महानवमीको दिन त्रिपुरा सुन्दरी देवी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने विश्वासका आधारमा ख:मेय्को बध गरेर जात्रा मनाउने परम्परा रहेको संस्कृतिविद प्रकाश कायस्थले जानकारी दिए।
नवदुर्गा मन्दिरमा ख:मेय् अर्थात् राँगोलाई आज साँझ तान्त्रिक विधिले पूजा गरी टन्न जाँडको कट खुवाएर शरीर भरी र तेल दलेर लठ्ठ बनाई सयौँ भक्तजनले नवदुर्गा मन्दिरबाट राँगोलाई तान्दै लखेट्दै दायाँबायाँ सुकुन्दा बालेर दौडाइएको थियो । ख:मेय् अर्थात् राँगोलाई भक्तपुरको बजारै बजार दौडाउँदै च्याम्हसिंह सडक निकालेर ब्रम्हायणी खोलामा पुर्याइएको खोलाको पानी छम्कदै ब्रम्हायणी मन्दिरमा पुर्याएर बलि दिइएको छ ।
तान्त्रिक विधिअनुसार ब्रम्हायणीमा ख:मेय् अर्थात् महिषासुर राक्षसको रूपमा राँगोको बलि दिएर जात्रा मनाएको हो । खमेयको बध गरेसँगै हजारौँ स्थानीयले मासुको टुक्रा लैजानेको भीड लागेको छ । एक टुक्रा मासुका लागि हजारौँले मासु लुछेर लैजाने परम्परा छ ।
उक्त राँगोको मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई तिहारको लक्ष्मीपूजाका दिन धूप बाल्ने गर्दछन् । उक्त मासुको धूप बाल्दा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास रहेकाले राँगोको एक टुक्रा मासु लिन पनि भिड लाग्ने गर्दछ ।
योसँगै आज रात भरी नै हजारौँ मानिसको भीड र जात्रा लाग्ने गर्दछ । आज भक्तपुरमा रात भरी जात्रा हुने र ब्रम्हायणीमा भोली दिनभरि पनि मेला लाग्ने गर्दछ ।







