काठमाडौँ। तनहुँको बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित पृथ्वीराज मार्गमा शनिबार दिउँसो बस र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आइरहेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर आज दिउँसो १२ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक गोरखा धार्चे गाउँपालिका-७ का २८ वर्षीय पुनराम गुरुङ गम्भीर घाइते भएका थिए । उनीसहित सोही स्कुटरमा पछाडिको सिटमा रहेका ३२ वर्षीय मनोज गुरुङको पनि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका छन् ।
दुवै जनालाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सिटी अस्पताल डुम्रे लगिएकोमा थप उपचारका लागि सीएमसी अस्पताल, भरतपुर चितवन रिफर गरिएको थियो । रिफरपछि केही समयमा पुनराम गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।







