काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् ।
एक कार्यक्रममा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको बताएका हुन् ।
योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’
साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए । पूर्व विज्ञान मन्त्री समेत रहेका उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए ।
अब कुनै पनि पार्टीमा नलाग्ने उनले पटक-पटक दोहोर्याएका छन् ।
नयाँ पार्टी खोलेकाहरूले अभिभावकीय भूमिका खेलिदिन आग्रह गरिरहेको उल्लेख गर्दै उनले आफू त्यस्तो भूमिकाका लागि तयार नहुने बताए । उनले भने, ‘माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्न ।’







