काठमाडौँ। रौतहटको गौर नगरपालिका-५ का पूर्व वडाध्यक्ष राम सोगारथ राय यादवको मृत्यु भएको छ ।
बुधबार अपराह्न करिब ४:१५ बजे करेन्ट लागेर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै खेतबारीमा मोटरको तारबाट अचानक करेन्ट लागि पूर्व वडा अध्यक्ष यादव घाइते भएका थिए। शवलाई पोस्टमार्टमको लागि अस्पतालमै राखिएको र घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य रहेका यादवको मृत्युले पार्टीलाई अतुलनीय क्षति भएको युवा संघ नेपालका केन्द्रीय सदस्य बजरंगी गुप्ताले बताएका छन् ।







