परिचय
शिक्षाले व्यक्तिलाई ज्ञान प्रदान गर्दछ । सीपले शिक्षाबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सक्षम बनाउँछ । शिक्षा र सीपको माध्यमबाट आयआर्जन गर्ने अवसर प्राप्त हुन्छ । शिक्षाले सीप विकासमा मद्दत गर्दछ भने सीपले रोजगारीमा पहुँच बढाउँछ । रोजगारीले आर्थिक विकास गर्छ र देशको अर्थतन्त्रलाई मजबुत बनाउँछ । शिक्षा, सीप र रोजगारी सामाजिक आर्थिक विकासको एउटा महत्वपूर्ण आधारस्तम्भको रुपमा रहेको छ । यसले मुलुकको कुल गाहर्स्थ्य उत्पादनलाई गतिशील बनाउन अहम् भूमिका खेल्ने गर्छ । यसले श्रम बजारलाई चलायमान बनाउने काम पनि गर्दछ । अतः शिक्षाले ज्ञान दिन्छ, सीपले त्यस ज्ञानलाई व्यवहारमा उतार्छ र रोजगारीले त्यसलाई आयआर्जनमा रूपान्तरण गर्छ ।
सीपले व्यक्तिलाई प्रतिस्पर्धी र उत्पादक बनाउँछ । व्यक्तिको रोजगारयोग्य क्षमतालाई बढाउँछ र श्रम बजारमा सहज रुपमा प्रवेश गर्न सक्षम बनाउँछ । सीप व्यक्ति, समाज र राष्ट्रको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको हुन्छ । कुनै पनि अर्थतन्त्रमा दिगो रोजगारी सिर्जना गर्न र उत्पादकत्व वृद्धिका लागि सीपयुक्त जनशक्ति अनिवार्य हुन्छ । रोजगारीले व्यक्तिलाई आत्मनिर्भर, सम्मानित र समृद्ध बनाई राष्ट्रिय उत्पादनलाई बढाउँछ । रोजगारीले सामाजिक आर्थिक स्थिरता कायम गर्छ । गरिबी र बेरोजगारीलाई घटाउँछ । राष्ट्रिय अर्थतन्त्रलाई उत्पादनशील बनाउँछ ।
शिक्षा, सीप र रोजगारीको वर्तमान अवस्था
सबल र सुदृढ अर्थतन्त्र निर्माणमा मानव पूँजीको अहम् योगदान रहन्छ । शिक्षाले नै दक्ष मानव पूँजी तयार गर्दछ । मानव पूँजीको विकासले अनुसन्धान तथा विकास, नव प्रवर्तन र अर्थतन्त्रलाई उत्थानशील बनाउन सहयोग पुग्छ । मानव पूँजी सूचकाङ्क, २०२० अनुसार नेपालको मानव पूँजी सूचकाङ्क ०.५० रहेको छ । यसको अर्थ आज जन्मेको बच्चाले देशमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा कमी भएका कारण व्यस्क हुदाँ आफ्नो उत्पादकत्व सम्भव्यता र क्षमताको आधामात्र प्राप्त गर्नेछ अर्थात आधा उत्पादकत्व गुमाउने छ । नेपालको उपयोग समायोजित मानव पूँजी सुचकाङ्क ०.१८ मात्र रहेको छ । यसको अर्थ नेपालमा आज जन्मेका बच्चाले व्यस्क हुदाँ आफ्नो सम्भावित उत्पादकत्वको १८ प्रतिशतमात्र उपयोग गर्न सक्नेछ ।
सन् २०२२ मा नेपालमा शिक्षामा रहेको सरकारी खर्च कुल गाहर्स्थ्य उत्पादनको ३.७ प्रतिशत थियो । जुन न्यून मध्यम आय भएका राष्ट्रहरुको औषत खर्च ४.३ प्रतिशत भन्दा कम र युनेस्कोले सिफारिस गरेको ६ प्रतिशत भन्दा निकै कम रहेको छ । नेपालका विश्वविद्यालयहरुले ७३.८ प्रतिशत विद्यार्थी साधारण विषयतर्फ उत्पादन गर्दछ भने बाँकी २६.२ प्रतिशत विद्यार्थी प्राविधिक विषयतर्फ उत्पादन गर्दछ । सोह्रौं योजनाले प्राविधिक विद्यार्थीको अनुपात ७० प्रतिशत र साधारण विद्यार्थीको अनुपात ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
पर्याप्त सीपको अभावमा हरेक १० जना मध्ये ७ जना बेरोजगारीको चपेटामा पर्ने गरेको छ । नेपाल श्रमशक्ति सर्वेक्षण, १९९५/९६ अनुसार नेपालको बेरोजगारी दर ४.९ प्रतिशत रहेको थियो भने नेपाल जीवनस्तर सर्वेक्षण, २०२२/२३ अनुसार बेरोजगारी दर १२.६ प्रतिशत पुगेको छ । यसरी विगत २७ वर्षको अवधिमा नेपालको बेरोजगारी दर ७.७ प्रतिशतले बढेको देखिन्छ । विश्वमा हरेक पाँच जनामा एक जना अर्थात २०.४ प्रतिशत युवाको संलग्नता शिक्षा, सीप वा रोजगारीमा नरहेको र नेपालमा ५५.८ प्रतिशत युवाको संलग्नता शिक्षा, सीप र रोजगारीमा नरहेको अवस्था छ ।
शिक्षा, सीप र रोजगारी बीचको अन्तरसम्बन्ध
शिक्षा रोजगारीको आधारभूमि हो । शिक्षाले आधारभूत ज्ञान, सीपले प्रयोगात्मक ज्ञान र रोजगारीले अवसर प्रदान गर्दछ । गुणस्तरीय र व्यवसायिक शिक्षाले मात्र श्रम बजारको माग र आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न सक्छ । रोजगारीका लागि डिग्री वा प्रमाणपत्र मात्र पर्याप्त हुदैन । उद्योग, व्यवसाय र प्रविधिसंग मेल खाने शिक्षा प्रणाली नभएसम्म रोजगारीमा सहज पहुँच हुन सक्दैन् । प्रमाणपत्रधारी शिक्षा भए पनि सीप नभएसम्म रोजगारी प्राप्त गर्न सकिन्न् । वर्तमान परिवेशमा प्रविधिमा भएको द्रुत विकास र श्रम बजारको स्वरुपमा आएको परिवर्तनसंगै नयाँ नयाँ सीपको माग र आवश्यकता बढदै गएको छ । श्रम बजारलाई चलायमान बनाउन शिक्षा र सीप एक अर्काको पूरकको रुपमा काम गर्दछ ।
कुनै पनि व्यक्तिको व्यक्तिगत र पेशागत क्षमता विकासका लागि शिक्षा र सीप अपरिहार्य रहेको छ । सीप भनेको शिक्षाबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने क्षमता हो । शिक्षा र सीपलाई श्रम बजारसंग जोड्न सकेमात्र देशको मानवपूँजीलाई दिगो विकास तर्फ उन्मुख गराउने प्रबल सम्भावना रहन्छ । शिक्षा र सीपले नवप्रवर्तन, उद्यमशीलता र स्वरोजगारलाई बढाउँछ । उद्यमशीलताले रोजगारी सिर्जना गर्दछ । सीपको कमी वा शिक्षा र सीपमा भएको असन्तुलनका कारण श्रम बजारमा समेत असन्तुलन र अस्थिरता आउने गर्दछ । परिणामतः मुलुकमा बेरोजगारी बढने र रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको सिर्जना हुने गर्दछ । तसर्थ रोजगारी सिर्जना र उद्यमशीलतालाई प्रोत्साहन गर्न शिक्षा, सीप र रोजगारीको चक्रलाई सन्तुलित बनाउन सकेमा मात्र आजको युवाशक्तिलाई उत्पादक र आत्मनिर्भर बनाउन सकिन्छ ।
शिक्षा, सीप र रोजगारीका क्षेत्रमा रहेका ग्यापहरु
काम गर्ने उमेर समूहको एक तिहाई जनसंख्याले प्राथमिक शिक्षा पुरा गरेका छैनन् । जसले उत्पादकत्व र नवप्रवर्तनलाई सीमित बनाएको अवस्था छ । नेपालमा गुणस्तरीय शिक्षाको अभाव तथा रोजगारीका अवसरहरुको कमीका कारण नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जाने प्रचलन बढेको छ । नेपालको शिक्षा प्रणाली रोजगार उन्मुख हुन नसकेको, श्रम बजारको आवश्यकता र मागलाई परिपूर्ति गर्न नसकेको र उद्यमशिलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न नसकेको अवस्था छ । शिक्षा, सीप र रोजगारी बीच सन्तुलन कायम हुन नसक्दा बेरोजगारीको समस्या दिनानुदिन बढदै गएको छ । जसको परिणामस्वरुप गरिबीको दर पनि बढदै गएको देखिन्छ । शिक्षा, सीप र रोजगारीको क्षेत्रमा देखिएका मुख्य ग्यापहरु यसप्रकार रहेका छन् ।
(क) शिक्षा
१. पाठ्यक्रमः विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरु सैद्धान्तिक शिक्षामा बढी केन्द्रित रहेको, पाठ्यक्रमले श्रम बजारको आवश्यकता र मागलाई सम्बोधन गर्न नसकेको, पाठ्यक्रमले सीप, उद्यमशीलता र नवप्रवर्तनलाई आत्मसाथ गर्न नसकेको, व्यवहारिक अभ्यासलाई अवलम्बन गर्न नसकिएको र कतिपय पाठ्यक्रमहरुको श्रम बजार जब स्कोप नै नरहेता पनि हालसम्म निरन्तरता दिईरहेको अवस्था छ ।
२. अनुसन्धान/नवप्रवर्तन केन्द्रः विद्यालय र विश्वविद्यालयहरुमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र र प्रयोगशालाहरुको कमी रहेको छ । भएको अनुसन्धान केन्द्र तथा प्रयोगशालाहरु पनि जीर्ण अवस्थामा रहेको छ । उपलब्ध मेशिन उपकरणहरु काम नलाग्ने अवस्थामा छ । अनुसन्धान र नवप्रवर्तनमा न्यून लगानी हुने गरेकोले नयाँ नयाँ विचार र प्रविधिको विकास हुन सकिरहेको छैन् ।
३. शैक्षिक पूर्वाधारः शिक्षण संस्थानहरुमा शैक्षिक पूर्वाधारहरुको एकदमै कमी रहेको छ । प्रविधिको अभावमा शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउन सकिएको छैन् । शैक्षिक पूर्वाधारहरुको अभावमा शिक्षालाई प्रयोगात्मक र व्यवहारिक बनाउन सकिएको छैन् । व्यवसायिक दक्षता हासिल गर्न सकिरहेको छैन् । जसको परिणामस्वरुप वर्तमान पुस्तासंग व्यवहारिक सीपको अभावका कारण स्वदेशमा उद्यम व्यवसाय शुरु गर्नुको सट्टा वैदेशिक रोजगारीलाई गन्तव्य बनाउन सजिलो ठान्ने गरेको छ ।
(ख) सीप
१. सीपको कमीः श्रम बजारमा उपलब्ध रोजगारीका अवसर अनुसारको सीप नहुनु वा रोजगारीका लागि आवश्यक पर्ने सीप पर्याप्त नहुनु हो । ज्ञान, सीप, दक्षता वा व्यवहारगत क्षमताको कमीका कारण व्यक्तिले उपलब्ध रोजगारीका अवसरमा आफूलाई फिट बनाउन सक्दैनन् । नेपालमा सीपयुक्त जनशक्तिको कमीका कारण उपलब्ध रोजगारीका कतिपय अवसरहरुमा अन्य मुलुकका कामदारहरुको वर्चस्व रहेको देख्न सकिन्छ ।
२. सीपको बेमेलः श्रम बजारमा उपलब्ध रोजगारीका अवसर अनुसारको सीपयुक्त दक्ष जनशक्तिको उपलब्धता नरहेको र उपलब्ध जनशक्ति अनुसारको रोजगारीका अवसर उपलब्ध नरहेको अवस्था हो । सीपको बेमेलको अवस्थाले श्रम बजारमा माग र आपूर्ति बीच असन्तुलन ल्याउने गर्दछ । जसको प्रत्यक्ष असर रोजगारी सिर्जना गर्न वा रोजगारी प्राप्त गर्नमा देख्न सकिन्छ ।
(ग) रोजगारी
१. श्रम बजारको विश्लेषणः श्रम बजारमा कुन कुन क्षेत्रमा के कस्ता रोजगारीका माग रहेका छन् र आगामी दिनमा कुन कुन क्षेत्रमा के कस्ता रोजगारीका माग आउने सम्भावना रहन्छ भने विषयमा श्रम बजारको विश्लेषण आवश्यक रहेको छ । यसको अभावमा शिक्षा र सीप बीचको असन्तुलनले समग्र श्रम बजारको माग र आपूर्ति प्रणालीलाई असन्तुलित र अस्थिर बनाईरहेको छ ।
२. श्रम बजार सूचना व्यवस्थापन सूचना प्रणालीः सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनको अभावमा छरिएर रहेका रोजगारीका अवसरहरुलाई एकत्रित गरी रोजगारीको खोजीमा रहेका व्यक्तिहरु समक्ष सहज रुपमा सूचना सम्प्रेषण गर्ने कार्य कठिन हुने गरेको छ । रोजगारी एवम् सीपको माग, आवश्यकता र आपूर्ति प्रणालीलाई असन्तुलित बनाउनुको साथै सीप तथा क्षमता विकासका कार्यक्रमहरुलाई अव्यवस्थित बनाउँछ । यसले शिक्षा, सीप र रोजगारी बीचको बेमेल (मिसम्याच) को अवस्थालाई अझ बढाउँछ ।
३. समन्वय र सहकार्यः रोजगारी सिर्जना एउटा जटिल प्रक्रिया हो । शिक्षालाई सीपसंग र सीपलाई श्रम बजारसंग जोड्न विश्वविद्यालय, औधोगिक प्रतिष्ठान, तालिम प्रदायक संस्था लगायत विभिन्न सरकारी, गैरसरकारी, निजी क्षेत्र तथा दातृ निकायहरु बीच न्यून समन्वय र सहकार्य हुने गरेको छ । श्रम बजारको मागलाई आपूर्ति गर्न सरोकारवालाहरु बीचको कमजोर समन्वय र सहकार्यले दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा कठिनाई हुने गरेको छ भने उत्पादित जनशक्तिहरुलाई श्रम बजारमा पदस्थापन गर्न नसकिएको अवस्था छ । जसको परिणामस्वरुप उच्च शिक्षा हासिल गरेका युवाहरुमा बेरोजगारी दर बढ्दै गएको छ ।
अबको दिशा
दिगो सामाजिक तथा आर्थिक विकासका लागि कुनै पनि राष्ट्रले शिक्षा, सीप र रोजगारीलाई सन्तुलित रूपमा अगाडि बढाउन आवश्यक हुन्छ । श्रम बजारलाई सन्तुलित राख्न शिक्षाबाट प्राप्त ज्ञान र व्यावहारिक सीपबीच तादम्यता हुनु अनिवार्य छ । यसरी मात्र रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ र रोजगारीको खोजीमा रहेका व्यक्तिहरूले सजिलै रोजगारी प्राप्त गर्न सक्छन् । त्यसैले शिक्षा, सीप र रोजगारीलाई सन्तुलनमा राखी श्रम बजारलाई व्यवस्थित गर्नका लागि निम्न कदमहरू आवश्यक छन्:
१. विद्यालय एवम् विश्वविद्यालयको पाठ्यक्रमलाई समसामयिक, व्यवहारिक र श्रम बजारमैत्री बनाउने,
२. शैक्षिक संस्थाभित्र अनुसन्धान केन्द्र, नवप्रवर्तन केन्द्र तथा प्रयोगशालाहरुको स्थापना तथा विस्तार गर्ने,
३. स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय श्रम बजारमा आवश्यक सीपहरुको वर्गीकरण गर्ने,
४. उद्योगहरुको सहकार्यमा प्राविधिक तथा व्यवसायिक तालिम सञ्चालन गर्ने,
५. सीप विकास तालिमलाई नतिजामुखी र रोजगार उन्मुख बनाउन सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाको प्रत्यक्ष संलग्नता रहने गरी सेक्टर स्किल काउन्सीलको गठन गर्ने,
६. सीप विकास तालिमलाई सहज, पहुँचयोग्य र दोहोरोपनामुक्त बनाउन सहभागीहरुको छनौट कार्यलाई एकद्वार प्रणालीमार्फत रोजगार सेवा केन्द्रबाट गर्ने,
७. सीप विकास तालिममा सहभागी हुने प्रत्येक व्यक्तिलाई इन्टर्नशिप/अप्रेन्टिससिपमा सहभागिता अनिवार्य गर्ने,
८. सीप विकास तालिमलाई माइक्रो क्रेडेन्सियल प्रणालीमा रूपान्तरण गरी अन्तर्राष्ट्रिय श्रम बजारमा मान्यता प्राप्त प्रमाणपत्र प्रणाली लागू गर्ने,
९. श्रम बजारको माग र आवश्यकता सम्बन्धी सीप तथा रोजगारीको प्रक्षेपण गर्ने,
१०. श्रम बजार सूचना व्यवस्थापन प्रणाली (श्रम संसार) लाई पूर्ण रुपमा कार्यान्वयन गर्ने,
११. श्रम बजारलाई गतिशील, व्यवस्थित र प्रभावकारी बनाउन स्वायत्त संस्थाको रुपमा राष्ट्रिय रोजगार प्राधिकरणको गठन गर्ने,
१२. स्थानीय स्तरमा उद्यमशीलतालाई प्रवर्द्धन गर्न रोजगार सेवा केन्द्रमार्फत इन्क्युबेसन सेन्टरको सेवा समेत प्रवाह गर्ने,
१३. युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई पुनर्संरचना गरी राष्ट्रिय रोजगार कोषमा स्थापना गर्ने र यसलाई स्टार्टअप फण्डको रूपमा परिचालन गरी उद्यमशीलता विकास र नवप्रवर्तनका लागि मजबुत आधार तयार गर्ने,
१४. श्रम बजार विश्लेषण, रोजगारीको माग पूर्वानुमान, श्रम तथा रोजगार सम्बन्धी अध्ययन अनुसन्धानलाई नियमित गर्ने ।
निश्कर्ष
शिक्षा, सीप र रोजगारी अर्थतन्त्रको ब्यारोमिटरको रुपमा रहेको छ । शिक्षाले दिने ज्ञान र श्रम बजारलाई चाहिने सीप बीचको अन्तर र वर्तमान शिक्षा प्रणालीले रोजगारी प्राप्त गर्न तथा रोजगारी सिर्जना गर्न असक्षम रहेको छ । तसर्थ शिक्षा र सीपको संयोजनबाट मात्र रोजगारी प्राप्त गर्न सहज हुने भएकोले शिक्षालाई व्यवहारिक, सीपलाई श्रम बजार अनुकुल र रोजगारीलाई उत्पादनशील बनाउनु पर्दछ । नेपालको जनसांख्यिक ट्रेण्डलाई मध्यनजर गरी सोही अनुपातमा रोजगारीका अवसरहरु सिर्जना गर्न, आर्थिक विकासलाई गति दिन तथा जनसांख्यिक लाभको अवस्थाबाट अत्यधिक लाभ लिन शिक्षा र सीपलाई श्रम बजारसंग जोडनै पर्छ । नेपालको जनसांख्यिक लाभको अवस्थालाई सदुपयोग गर्न शिक्षा, सीप र रोजगारीबीच सन्तुलन अनिवार्य छ । अन्यथा यो लाभ जनसांख्यिक बोझमा परिणत हुन सक्छ ।







