काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नुवाकोटको बेत्रावतीमा भएको सफल उद्धार घटनालाई आशाको सन्देशका रूपमा उल्लेख गर्दै बाढी तथा पहिरो प्रभावित ज्येष्ठ नागरिकहरूको पुन:स्थापना, उद्धार र राहतमा सरकार पूर्ण जिम्मेवारीका साथ खटिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले विदुर-१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सकुशल उद्धार गरेको जानकारी दिँदै खोज तथा उद्धार कार्यमा सरकार निरन्तर जुटिरहेको बताए ।
विपद्का कारण घरबारविहीन भएका र आफन्त गुमाएका ज्येष्ठ नागरिकहरूका लागि सरकारले अस्थायी शिविर तथा होल्डिङ सेन्टरहरूमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका सुविधाहरू पुर्याइरहेको प्रधानमन्त्रीले जनाएका छन् ।
बाढीबाट क्षति पुगेको नुवाकोटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका प्रभावितहरूमध्ये ७ जनालाई काठमाडौँको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनार पाटीमा रहेको कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। उनीहरूलाई हिँडडुलका लागि ह्वीलचियर तथा वाकरको व्यवस्थाका साथै मानसिक आघात कम गर्न निरन्तर स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइँदै आएको छ।
विपद्को यस घडीमा आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूको उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको बताए ।
त्यस्तै, आफन्त र जायजेथा गुमाएका पीडित नागरिकहरूको आक्रोशलाई स्वाभाविक रूपमा लिँदै प्रधानमन्त्री शाहले यस संवेदनशील समयमा पीडितहरूमाथि अनावश्यक टिप्पणी गर्ने वा हियाउने काम गर्नेहरू विरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री शाहले बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति सामूहिक श्रद्धाञ्जली अर्पण गर्दै प्रभावितहरूलाई मन दह्रो बनाउन र राज्यलाई आफ्नै परिवार सम्झिएर भरोसा राख्न आग्रह गरेका छन् ।






