काठमाडौँ। लिग २ अन्तरगतको प्रतिस्पर्धामा युएईले अमेरिकासँग लज्जास्पद हार व्यहोरेको छ । अमेरिकाले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा युएई ४९ रनमै अलआउट भयो ।
घरेलु मैदानमा भएको खेलमा युएईले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । उक्त निर्णयलाई सही साबित गर्ने क्रममा युएईका बलरले उत्कृष्ट सुरुवात गर्दै २८ रनमै अमेरिकाका ३ विकेट झारेका थिए । तर, त्यसपछि अमेरिकाले युएईलाई कुनै मौका दिएन ।
सैतेजा मुक्कामल्ला र मिलिन्द कुमारले चौथो विकेटका लागि २५८ बलमा अविजित २६४ रन जोड्दै युएईलाई बलियो स्कोरमा पुर्याए । उनीहरू दुवैले शतकीय इनिङ खेले, जसमा सैतेजाले १३७ रन र मिलिन्दले १२४ रन बनाएर नटआउट रहे ।
जवाफी ब्याटिङमा युएई निरीह बन्यो । १० औँ नम्बरमा आएका जुनैद सिद्दिकीले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । युएईले २८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । अमेरिकाका रुसील अगरकरले ५ विकेट र सौरभ नेत्रभाल्करले ३ विकेट लिए ।
लिग २ को अंकतालिकामा युएई सबैभन्दा पुछारमा छ । सातौँ नम्बरमा रहेको नेपाल र आठौँ नम्बरमा रहेको युएईले प्रतियोगिताको अन्तिम म्याच पर्सी खेल्ने छन् । नेपाल प्रतियोगितामा पहिलो र एक मात्र जितको खोजीमा हुनेछ ।







