काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बिरामी भएर काठमाडौँ हिँडेपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरेर बाटोमै शपथ ग्रहण गर्नुपरेको बताएका छन् । आफ्नो नियुक्ति संवैधानिक भएको पनि उनले बताए ।
सोमबार साँझ जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रदेश प्रमुख बिरामी भएर काठमाडौँ हिँडिसक्नुभयो भन्ने थाहा पाएपछि मैले फोन गरें-माननीय प्रदेश प्रमुख ज्यु तपाईँ मलाई शपथ नखुवाई जान सक्नुहुन्न । म त बिरामी भएँ, कार्यवाहक मुख्यमन्त्रीज्यूलाई भनेको छु भन्नुभयो । नियुक्ति दिने अनि शपथ नगराउने ? शपथग्रहण गराएर जानुपर्यो । तपाईँ कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा भएको शपथ ग्रहण हो ।’
मुख्यमन्त्री यादवले नियुक्त मुख्यमन्त्रीले शपथग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै नेतृत्वमा रहने भएकाले अहिलेको स्थितिलाई हेरेर शपथ ग्रहणका लागि आफू बाटोमै पुगेको उनले बताएका छन् ।
नवनियुक्त मुख्यमन्त्री यादवले मुख्यमन्त्रीको शपथ ग्रहण एकै ठाउँमा हुनुपर्छ भन्ने जरुरी नरहेको तर्क गरेका छन् ।
संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति देखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठुलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
मधेश प्रदेशका दलका नेता र राजनीतिक विश्लेषकहरूले संघीयता नै खतरामा पार्ने खेल खेलेको भन्दै प्रदेश प्रमुखको आलोचना गर्दै आएका छन् । तर नवनियुक्त मुख्यमन्त्री यादवले बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने बताएका छन् ।
स्वास्थ्य उपचारका लागि काठमाडौँ जान्छु भनेर हिँडेकी प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटेलमा सोमबार बिहान झिसमिसेमा यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् ।







