काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई अन्तरदेशीय कारोबार गर्दा नियम अनुसार मात्रै गर्न सुझाएको छ । राष्ट्र बैंकले हुन्डीलाई परिभाषित गर्दै वास्तविक हिसाब किताब नदेखिने गरी कारोबार नगर्न सर्वसाधारणलाई सुझाएको हो ।
पछिल्लो समय हुन्डी कारोबार मार्फत दुबईमा अपार्टमेन्टमा नेपालीको लगानी बढ्दै गएको छ । गत भदौको जेन जेड आन्दोलनमा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड भएपछि निराश भएका उद्यमी तथा व्यवसायीले लगानी विदेश लगेको अवस्था छ ।
यसै सन्दर्भमा केन्द्रीय बैंकले सूचना जारी गर्दै सर्वसाधारणलाई सचेत गराएको छ । केन्द्रीय बैंकका अनुसार ‘हुन्डीसम्बन्धी कारोबार’ भन्नाले प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तानी लिने, दिने वा हुने गरी व्यवसाय बनाइ गरिने कारोबार भन्ने बुझिन्छ ।’
मुलुकी अपराध संहिता, २०७४’ को दफा १२५ क अनुसार कसैले पनि हुन्डीसम्बन्धी कारोबार गर्न वा गराउन हुँदैन ।
रकम स्थानान्तरण सम्बन्धी कुनै व्यावसायिक कारोबार वास्तविक हिसाबकिताब नदेखिने गरी सो सम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने गर्न नहुने केन्द्रीय बैंकले जनाएको छ ।
कसैले हुन्डी सम्बन्धी कसुर गरेमा बिगो र सोबाट बढे/बढाइएको सम्पत्ति समेत जफत हुने केन्द्रीय बैंकले जनाएको छ । साथै एक वर्षसम्मको कैद हुने कानुनी व्यवस्था छ । त्यसैले नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा केन्द्रीय बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीको मात्र प्रयोग गर्न केन्द्रीय बैंकले सुझाएको छ ।







