काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिकाले प्रतीक चिह्न (लोगो) डिजाइनका लागि प्रस्ताव आह्वान गरेको छ। प्रतियोगितामूलक प्रक्रियाबाट लोगो छनोट गर्ने निर्णयसँगै इच्छुक डिजाइनकर्ताबाट प्रस्ताव माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए।
वलीका अनुसार छनोट भएका लोगो निर्माणकर्तालाई करसहित २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। गाउँपालिकाको पहिचान, ऐतिहासिकता, जनजीवन, भूगोल, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय विशेषता समेटिने गरी लोगो तयार पार्नुपर्नेछ। इच्छुक व्यक्ति वा संस्थाले डिजाइन गरी गाउँपालिकाको इमेल ठेगाना वा कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ।
गाउँपालिकाको नाम, भौगोलिक नक्सा, राष्ट्रिय झण्डा, गाउँपालिकाको नारा र स्थापना मिति अनिवार्य रूपमा लोगोमा समावेश हुनुपर्ने पनि वलीले बताए। लोगोले स्थानीय पहिचान, ऐतिहासिक र सांस्कृतिक विशेषता तथा मौलिकता झल्काउनुपर्ने उनले स्पष्ट पारे। लोगो रंगीन हुनुपर्नेछ र प्रयोग भएका संकेतहरूको संक्षिप्त व्याख्या समेत बुझाउनुपर्नेछ।
उनका अनुसार लोगोमा जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमसत्ता, राष्ट्रिय एकता वा अखण्डतामा आघात पुग्ने कुनै पनि संकेत समावेश गर्न पाइने छैन। मूल्याङ्कन तथा छनोट सिफारिस समितिले आवश्यक परेमा परिमार्जनको अनुरोध गर्न सक्नेछ, र आवश्यक परिमार्जन गर्न डिजाइनकर्ताले सहकार्य गर्नुपर्नेछ। समितिले प्राप्त डिजाइन उपयुक्त नठानेमा सोही प्रक्रियामा पुनः सूचना जारी गर्न सकिनेछ।
लोगो पेश गर्दा निर्माणकर्ताले आफ्नो नागरिकताको प्रतिलिपि र आवश्यक विवरण अनिवार्य रूपमा बुझाउनुपर्नेछ। लोगोको स्वीकृतिसम्बन्धी सम्पूर्ण अधिकार गाउँ कार्यपालिकामा रहनेछ र स्वीकृत लोगोको सम्पूर्ण अधिकार गाउँपालिकाकै हुने, अन्यत्र प्रयोग गर्न नपाइने जनाइएको छ।







