काठमाडौँ। नेकपा एमाले भोजपुरले पूर्वमन्त्री कृपाशुर शेर्पालाई कारबाही गरेको छ । शुक्रबार बसेको जिल्ला सचिवालय बैठकले शेर्पाको सदस्यता ६ महिनाका लागि निलम्बन गरेको हो ।
यसअघि जिल्ला कमिटी बैठकले शेर्पालाई २ पटक स्पष्टीकरण सोधेको थियो । एमाले मोरङको अधिवेशनमा संस्थापनइतिरको जितपछि शेर्पाले लेखेको स्ट्याटसलाई लिएर शेर्पामाथि कारवाही गरिएको हो ।
स्पष्टीकरणको जवाफ जिल्लामा नदिएको भन्दै उनलाई निलम्बन गरिएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताले भने, ‘अध्यक्षज्यूले बैठकमा बोल्दै निलम्बनको निर्णय सुनाउनुभयो ।’
शेर्पाले फागुन २३ मा फेसबुकमा लेखेका थिए, ‘मोरङका कमरेडहरू सचेत रहेछन्, भोजपुरमा जस्तो उधारो पदको लोभमा कोही नफसेकाले खेलाडीको खेल तुहाएछन् १ मज्जा लाग्यो । सलाम कमरेडहरू !’
जिल्लामा निर्वाचित नेतृत्व, पार्टी सदस्यप्रति अपमानसहित भ्रम उत्पन्न गराएको भन्दै किन यस्तो अभिव्यक्ति दिएको रु, पार्टीमा बस्न तपाईँलाई नैतिक वा वैधानिक आधार के हो ?, विधानअनुसार किन कारबाही नगर्ने भनी उनलाई अध्यक्ष मक्कर खड्काले स्पष्टीकरण सोधेका थिए ।
भोजपुरबाट संविधानसभा सदस्य जितेका शेर्पा पर्यटन मन्त्रीसमेत भएका थिए । उनी गत वर्ष भएको जिल्ला अधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए ।
पूर्वाग्रह साँधिएको भन्दै शेर्पाले आफू संघीय मामिला तथा केन्द्रीय प्रशासन विभागको सदस्य भएकाले जिल्लाले स्पष्टीकरण र कारबाही गर्न नमिल्ने बताए ।
‘चुनावको मुखमा म जत्तिको जनाधार भएको मान्छेमाथि कारबाहीको नाटक रचियो । सामना गर्न तयार छु । म अनवरत र अविचलित रूपमा पार्टीमा खटिएको मान्छे घामजत्तिक्कै छर्लंग छ ।’
भोजपुरमा लामो समयदेखि पूर्वमुख्यमन्त्री एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई र शेर्पाबीच आन्तरिक टसल रहँदै आएको छ ।
आजको सचिवालय बैठकमा केही सदस्यहरूले कारबाही गरागर गर्नुभन्दा नेताहरू एकै ठाउँ बसेर नमिलेका कुरा र जिम्मेवारी बाँडफाँटको विषयमा सहमति गरेर एक ढिक्का भई जिल्लामा एमालेको खस्किएको साख उकासेर जानुपर्ने सुझाव दिएका थिए ।







