काठमाडौँ । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नम्बर १ धोरेबाट श्रोत नखुलेको नेपाली १५ लाख रुपैयाँसहित युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धोरेकै ३४ वर्षीय अवधेश पटेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार चेकजाँचमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारततिरबाट आउँदै गरेका पटेलले हाँकेको बीआर २२ए एफ ४१२६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
त्यस क्रममा उक्त मोटरसाइकलमा रहेको झोलाबाट नगद १५ लाख रुपैयाँ फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
बरामद गरिएको रकमको पटेलले स्रोत खुलाउन नसकेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार बरामद रकम हुण्डी कारोबारको रहेको छ । रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका पटेललाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को क बमोजिम कसुरमा अनुसन्धान भइरहेको छ।







