काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आफ्नै विधान विपरीत गतिविधि सञ्चालन गर्ने गैरसरकारी संघ-संस्था (एनजीओ) माथि छानबिन अघि बढाएको छ।
कार्यालयमा दर्ता भएका केही एनजीओहरूले विधानले तोकेका उद्देश्य तथा क्षेत्रभन्दा बाहिर काम गरेको, कार्यसमितिले मनोमानी ढंगले निर्णय लिएको र आर्थिक अनियमिततासमेत भएको व्यापक गुनासो आएपछि छानबिन थालिएको हो।
छानबिनलाई व्यवस्थित बनाउन प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिले दर्ता भएका संस्थाहरूको विवादित विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गरेपछि आवश्यक कारबाही वा अन्य निर्णय लिइने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिएका छन् ।
यसअघि पनि विभिन्न एनजीओहरूले विधान तथा कानुनको उल्लंघन गरेको भन्दै पटक-पटक उजुरी पर्ने गरेको तर ठोस कारबाही कम भएको गुनासो आउने गरेकामा अब भने प्रशासनले कडाइका साथ अनुगमन थालेको जनाइएको छ।








