काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङ, लागत अनुमान गर्दा डिजाइनरलाई वातावरण तथा सामाजिक पक्ष समावेश गर्न निर्देशन दिएकी छन् ।
पूर्वाधार योजनाको काम गर्दा उक्त स्थानमा त्यसअघि भएका पूर्वाधारको सुक्ष्म अवस्थामा ध्यान दिन पनि उपप्रमुख डंगोलले विभागलाई निर्देशन दिएकी हुन् ।
जमल-कमलाछी-असन, भोटाहिटी-असन, असन-बालकुमारी-मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुंगा बिछ्याउने योजनाको अनुगमनका क्रममा पानी पुन:भरण प्रणाली सुधार गर्नुपर्नेमा उनको जोड थियो ।
“सडक आफैँलाई पानी पुन:भरण हुनसक्ने बनाउन सम्भव भएन भने वाटर रिचार्ज राखेर भए पनि पानी पुन:भरण गराउनु पर्छ । यससँगै त्यो ठाउँमा पहिले नै निर्माण भएका पूर्वाधार, सामाजिक अपेक्षा र आवश्यकतालाई ख्याल गर्नुपर्छ,” उनले भनिन् ।
यस सडक खण्डमा सतहको पानी कसरी निकास हुन्छ ? सडकमा पानी जम्मा भएर पैदल यात्री, स्थानीयवासी तथा व्यापारिक क्रियाकलापमा असर हुन्छ कि हुँदैन भन्नेजस्ता विषयमा पनि ध्यान दिन आग्रह गरिएको छ ।
उक्त सडक खण्डमा पानी पुन:भरण हुने विधिबाट ढुंगा बिछ्याउने योजना थियो । यसका लागि एक सय मिटर सडकमा करिब एक महिना परीक्षण गरियो । सवारीसाधनको नियमित आवतजावतले पानी पुन:भरणसहितको सडक निर्माण टिकाउ नहुने भएपछि तर्जुमा गरिएको योजना संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।
करिब नौ सय मिटर लामो यो सडक खण्डमा न्यूनतम ४.५ फिट र धेरैमा १२ फिट चौडाइ छ । यहाँ १२ इञ्च लम्बाइ, आठ इञ्च चौडाइ र चार इञ्च मोटाइ भएका ढुंगा छापिएका छन् ।
रु. चार करोड ४२ लाख ८३ हजार लागत अनुमान रहेको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट रु. तीन करोड ५१ लाख १४ हजार कबोल गर्ने आइएस निर्माण सेवाले काम गरेको हो । वि.सं २०८२ असोज मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी २०८१ असार २४ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो । जमिनमा पानी पुन:भरण गराउने परीक्षण र योजना संशोधनका कारण निर्माण अवधि बढेको पनि कामपाले जानकारी दिएको छ ।
अनुगमनका क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरू, विपद् व्यवस्थापन तथा वातावरण अनुगमन टोलीसहित स्थानीयहरूको समेत सहभागिता थियो ।







