जनकपुरधाम । सामाजिक सुरक्षा कोषले बुधवार धनुषाको जनकपुरधाममा आयोजना गरेको “सामाजिक सुरक्षाको प्रभावकारिता मूल्याङ्कन महाअभियान” भव्य रूपमा सम्पन्न भएको छ। सरकारका उच्च अधिकारी, मधेश प्रदेशका सचिवहरू, आठ वटै जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख, निजी क्षेत्रका प्रतिनिधि, श्रमिक संघ-सङ्गठन, नागरिक समाज तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको यस कार्यक्रमले सामाजिक सुरक्षालाई जन्मदेखि मृत्युसम्मको जीवनचक्रको अपरिहार्य कवचका रूपमा स्थापित गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवम् सामाजिक सुरक्षा कोषका अध्यक्ष डा. कृष्णहरि पुष्करले मुख्य सम्बोधन गर्दै सामाजिक सुरक्षालाई जीवनको अपरिहार्य अङ्गका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
“बाल्यकाल, युवावस्था, वृद्धावस्था र मृत्यु जीवनका अपरिहार्य चरण हुन्। यी चरणमा सामाजिक सुरक्षा नहुँदा जीवन नै असुरक्षित बन्छ,” उनले भने। उनले सामाजिक सुरक्षालाई केवल आर्थिक संरक्षण नभई धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यतासँग जोडिएको बहु आयामिक ढालका रूपमा परिभाषित गरे ।
डा. पुष्करले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र भएकाले हिन्दु, मुस्लिम, बौद्ध, ख्रीष्टियन तथा सबै समुदायका नागरिकलाई जन्मदेखि मृत्युसम्म समान संरक्षण दिनु राज्यको कर्तव्य रहेको उनले स्पष्ट पारे ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षामा ऐतिहासिक प्रगति
कार्यक्रमको केन्द्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा रह्यो। कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, मलेसिया, दक्षिण कोरिया, जापानलगायतका देशमा कार्यरत लाखौँ नेपाली क्रमशः कोषमा आबद्ध भइरहेका छन्।
डिजिटल प्रणालीको सुदृढीकरणपछि विदेशबाटै नियमित योगदानको दर ऐतिहासिक रूपमा बढेको छ। “विदेशमा पसिना बगाउने हरेक नेपाली राष्ट्रको गौरव, शक्ति र सम्पत्ति हुन्। अब उनीहरूको जीवन असुरक्षित रहनुहुँदैन। भूगोल, धर्म, भाषा वा समुदायको कुनै भेदभाव छैन, सबैले समान अधिकार पाउनुपर्छ,” डा. पुष्करले भने। प्रवासी नेपालीहरूले सामाजिक सुरक्षालाई “फर्कँदा जीवनको भरोसा, परिवारको ढाल, आर्थिक सुरक्षा र भविष्यको आधार” का रूपमा ग्रहण गर्न थालेको उनले बताए ।
मधेश प्रदेशलाई क्रान्तिको अग्रपङ्क्तिमा ल्याउन आह्वान
डा. पुष्करले मधेश प्रदेशलाई सामाजिक सुरक्षा क्रान्तिको अग्रपङ्क्तिमा ल्याउन विशेष आह्वान गरे। सांस्कृतिक, ऐतिहासिक र सामाजिक दृष्टिले मधेश यस अभियानको नेतृत्व लिन सक्षम रहेको उनको भनाइ थियो।
मधेश प्रदेशका सचिवहरू, स्थानीय तहका प्रमुखहरू, निजी क्षेत्र र श्रमिक सङ्घका प्रतिनिधिहरूले पूर्ण समर्थन र सहकार्यको प्रतिबद्धता जनाएका छन्।
अन्तरक्रियात्मक सत्रमा प्रवासी सुरक्षा, अपाङ्गता बीमा, मृत्यु सहायता, स्वरोजगार तथा साना व्यवसायीको समेटाइ, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, कोषको दीर्घकालीन वित्तीय स्थायित्व, श्रमिक–रोजगारदाता समन्वय र डिजिटल प्रणालीको थप सुदृढीकरणजस्ता विषयमा गहन छलफल भयो।

जीवनको हरेक जोखिममा राज्यको साथ
दुर्घटना, आकस्मिक रोग, अपाङ्गता, वृद्धावस्था, बेरोजगारी वा पारिवारिक सङ्कटजस्ता जीवनका हरेक जोखिममा राज्य नागरिकको साथमा रहने स्पष्ट प्रतिबद्धता व्यक्त भयो। “सक्ने बेला योगदान गर्ने, नसक्ने बेला संरक्षण पाउने- यही सामाजिक सुरक्षाको मूल मर्म हो। यही समृद्धि, समानता, न्याय र दीर्घकालीन विकासको आधार हो,” सचिव डा. पुष्करले जोड दिए ।
जनकपुरको यो महाअभियानले सामाजिक सुरक्षालाई धर्म, संस्कृति र विविधतासँग जोड्दै राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक न्यायको सशक्त सन्देश दिएको छ। घर–घर, गाउँ–गाउँ, उद्योग–कलकारखाना र विदेशमा रहेका हरेक नेपालीलाई यो योजनामा समेट्ने लक्ष्य राखिएको छ। कोषले आगामी दिनमा डिजिटल पहुँचको विस्तार, योगदान प्रक्रियाको सरलीकरण र लाभग्राही सङ्ख्या वृद्धिलाई प्राथमिकतामा राख्ने जनाएको छ।
जनकपुरबाट सुरु भएको यो अभियानलाई सामाजिक सुरक्षा कोषले सात वटै प्रदेशमा क्रमशः विस्तार गर्ने योजना बनाएको छ। यो कार्यक्रमले प्रमाणित गरेको छ –सामाजिक सुरक्षा बिना समृद्ध राष्ट्र, सुखी नागरिक र सहिष्णु समाजको कल्पना पनि सम्भव छैन।







