काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भर्चुअल माध्यमबाट प्रवासमा आज ‘एकता सन्देश सभा’ गर्दै छ।
नेकपा प्रवास विभागको आयोजनामा जुममार्फत सन्देश सभा गर्न लागेको हो।
कार्यक्रमलाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने साबिक एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद साहले जानकारी दिए।
उनका अनुसार नेपाली समयअनुसार आज साँझ ६ बजेबाट भर्चुअल एकता सन्देश कार्यक्रम हुने छ। एकतामा आएका वामपन्थी घटकमध्ये माओवादीनिकट नेपाली जनप्रगतिशील मञ्च र एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च मुख्य गरी प्रवासमा क्रियाशील छन्।
भौगोलिक र गैरभौगोलिक सबै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको नेकपाले सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कोशी र मधेश प्रदेशमा सन्देश सभा गरिसकेको छ।







