काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठुलो समस्याको रूपमा देखिएको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित प्रथम बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालका सुन्दरतम ताल तलैयाहरू र पर्यावरणमा मिचाहा प्रजातिले ठुलो असर गरेको बताएका छन् ।
चरण क्षेत्रहरूमा गन्धेझारहरूले वस्तुभाउको वासस्थान ध्वस्त पारेको र राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्सानी गर्नुका साथै वासस्थान नोक्सानी गरेको उनको भनाइ छ ।
‘नेपालमा पनि मिचाहा प्रजाति ठुलो समस्याको रूपमा देखिएको छ । हाम्रा सुन्दरतम ताल तलैयाहरू, जलकुम्भीले यसले पर्यावरणीय क्षति गरेको छ । चरण क्षेत्रहरूमा पार्थेनियम र गन्धेझारहरूले वस्तुभाउको वासस्थान ध्वस्त पारिसकेको छ । हाम्रा राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा फैलिएको वनमारा तथा लहरे वनमारा, जंगली सिलाम आदिले वन्यजन्तुको आश्रयस्थल नोक्सानी गर्नुका साथै वासस्थान नोक्सानी गरेको छ । जसले गर्दा वन्यजन्तु संरक्षित क्षेत्र भन्दा बाहिर आई मानव-वन्यजन्तु द्वन्द्व बढेको छ । वनभित्र सुख्खा याममा मिचाहा वनस्पति, वन डढेलोको प्रमुख कारक भएको छ ।’







