काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउने क्रम अन्तिम चरणमा पुगेको छ ।
भृकुटीमण्डपकोस्थित मिडियासेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले इच्छुक उम्मेदवारहरू फाराम भरी दर्ता गर्न नेताहरू व्यस्त रहेको जानकारी दिँदै आज अपराह्न ३:३० बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको जानकारी दिएका छन्।
उनका अनुसार निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९:३० बजेदेखि उम्मेदवारको फारम वितरण तथा दर्ता प्रक्रिया सुरुभएपछि संशोधनसहित आज दिउँसो १ बजेदेखि ३:३० बजेसम्म उम्मेदवारी दर्ता गराउने समय थप गरिएको छ ।
“उम्मेदवार दर्ता अत्यन्त उत्साहजनक ढंगबाट लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार भइरहेको छ । साथीहरू उत्साहित भएर निर्वाचनमा भाग लिन चाहिरहनुभएको छ ।” उनले भने ।
नेता गौतमका अनुसार अध्यक्ष पदको उम्मेदवारी शुल्क रु. १५ हजार, उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारीको रु. १० हजार र केन्द्रीय सदस्यका लागि रु. पाँच हजार शुल्क तोकिएको छ । उम्मेदवारी फारम शुल्क भने रु. १०० तोकिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार नै भोलि मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने नेता गौतमले जानकारी दिए ।







