काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न निष्पक्ष र स्वतन्त्र मताधिकारको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभालाई सदरमुकाम मार्तडीमा सम्बोधन गर्दै रावलले सरकारले जेन जेड आन्दोलनका क्रममा फरार कैदी बन्दीलाई निर्वाचनको मिति अघि नै पक्राउ गर्नुपर्ने, लुटेका हातहतियार नियन्त्रणमा लिनुपर्ने बताइन् ।
नेता रावलले काँग्रेस, एमालेको बेथिति र अहंकार अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी आवश्यक भएको धारणा राखेका छन्। उनले नेपालको स्वाधीनता, जनताको हक अधिकार, गौरव र समृद्धिलाई माथि उठाउन नेपाली कम्युनिष्ट पार्टीले संकल्प गरेको उल्लेख गरे ।
एकता सन्देश सभामा नेपाली कम्युनिष्ट पार्टीका नेता भानुभक्त जोशी, खगराज भट्ट, प्रकाश शाहलगायतले सभालाई सम्बोधन गरेका थिए ।







