काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक सुरु भएको छ ।
ललितपुरको च्यानलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची अन्तिम रूप दिने एजेन्डा रहेको छ ।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम मिति आज नै तोकेकाले बैठकले यसलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको पार्टी स्रोतले जनाएको छ ।
जिल्ला र प्रदेश तहबाट सिफारिस भएका नामहरूको आधारमा छोटो सूची तयार पारिएको र आइतबारको बैठकबाट अन्तिम निर्णय गरी आयोगमा बुझाउने तयारी छ । बैठकमा पार्टीको कार्यालय व्यवस्थापन, वर्तमान राजनीतिक स्थिति र अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग भएको छलफलको ब्रिफिङलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको यो पहिलो सचिवालय बैठक भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।







