काठमाडौँ । गृह मन्त्रालयमा सरुवा भई आएका गृहसचिव राजकुमार श्रेष्ठले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले नव नियुक्त गृहसचिव श्रेष्ठलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सोही अवसरमा सरुवा भई लोक सेवा आयोगमा जाने सचिव रामेश्वर दंगाललाई मन्त्रालयमा रहँदा पुर्याएको योगदानका लागि धन्यवाद दिँदै औपचारिक रूपमा बिदाइ गरिएको छ।
पदभार ग्रहणपछि आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा बोल्दै गृहसचिव श्रेष्ठले सरकारले दिएको जिम्मेवारीलाई सबै कर्मचारीहरूको साथ, सहयोग र समन्वयमा सक्दो कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले बदलिँदो परिस्थिति र नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन मन्त्रालयका सबै कर्मचारीहरूलाई जिम्मेवारीबोधका साथ काम गर्न निर्देशन पनि दिए।
मन्त्रिपरिषद्को पुस ११ गते बसेको बैठकले गृहसचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव राजकुमार श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
असोजको पहिलो साता रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा ल्याइएका गृहसचिव दंगाल तीन महिनामै हटाइएका हुन् । पछिल्लो समय मन्त्री-सचिवबीचको कार्यसमन्वय र कामकारबाहीलाई लिएर मन्त्रालयभित्र विभिन्न चर्चा सुरु भएका थिए भने हालैको प्रमुख जिल्ला अधिकारीहरूको सरुवामा अलि बढी नै आलोचना हुँदै आएको थियो ।







