काठमाडौँ । जेन जेड आन्दोलनबाट उदाएका युवा नेता रवि किरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ।
राप्रपाले हमाललाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको रूपमा सिफारिस गर्दै पार्टीभित्र उदाउँदै गरेका युवामध्ये एक प्रभावशाली र सम्भावनाशील नेताका रूपमा मूल्यांकन गरेको जनाएको छ।
व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेन जेड आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए। युवाहरूको राजनीतिक चेतना र सहभागिता विस्तारमा जेनजेड आन्दोलनले खेलेको भूमिकासँगै हमालको राजनीतिक उचाइ पनि उल्लेखनीय रूपमा बढेको विश्लेषण गरिएको छ।
राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका हमाल वैचारिक स्पष्टता र सार्वजनिक बहसमा सशक्त उपस्थितिका कारण चिनिएका युवा नेता हुन्। उनको सिफारिसलाई सुर्खेतमा नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्वको संकेतका रूपमा हेरिएको छ। विगत तीन दशकदेखि निर्वाचित हुँदै आएका नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई टक्कर दिने गरिकन उनी चुनावी मैदानमा आउनेछन्।
पुस्तान्तरणको बहस तीव्र रूपमा अगाडि बढेको र युवा नेताको रूपमा राष्ट्रिय पहिचान बनाएका रवि किरणले यसपालि सुर्खेत १ मा बलियो राजनीतिक पकट जमाउने सम्भावना देखिएको छ।








