काठमाडौँ । कर्णालीमा काँग्रेस-एमालेले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेका छन् ।
एमालेका केन्द्रीय सचिवसमेत रहेका मुख्यमन्त्री यामलाल कँडेलको रोहबरमा बसेको एमाले र काँग्रेस कर्णालीको बैठकले आह्वान गरेको हो ।
नेपाली काँग्रेसले अन्यतर्फका ललितजंग शाही र एमालेबाट महिलातर्फ मिनासिंह रखाललाई उम्मेदवार बनाएको छ । काँग्रेस-एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरेका छन् ।
गठबन्धनका उम्मेदवारलाई मत दिई विजय गराउन कर्णाली प्रदेशका प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुखहरू साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
यसै गरी, राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि समयमै मतदान स्थलमा उपस्थित हुन दुवै पार्टीको तर्फबाट पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बुधबार बेलुका बसेको बैठकमा एमालेका तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा सहभागी थिए ।
यसै गरी नेपाली काँग्रेसको तर्फबाट सभापति ललितजंग शाही र महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए ।







