काठमाडौँ । विराटनगर महानगरपालिका-४ स्थित नोबेल शिक्षण अस्पताल आसपासमा बिरामी ठग्ने काममा संलग्न रहेको पुष्टि भएपछि ७ वटा औषधि पसल (फार्मेसी)मा शुक्रबार ताला लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गर्दै गम्भीर अनियमितता भेटिएपछि फार्मेसीहरू तत्काललाई सिल गरेको हो। अस्पतालनजिक सञ्चालनमा रहेका १४ वटा फार्मेसीमा एकै पटक अनुगमन गरिएको थियो। अनुगमनका क्रममा कानुन विपरीत औषधि बिक्री, बिना दर्ताका विदेशी औषधि राखिएको, म्याद सकिएका औषधि बिक्रीका लागि तयारी अवस्थामा राखिएको तथा चिकित्सकले नलेखेका औषधिसमेत बिरामीलाई जबरजस्ती दिइएको भेटिएको प्रशासनले जनाएको छ।
यस्ता क्रियाकलापले बिरामीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने निष्कर्ष निकाल्दै ७ वटा फार्मेसीमा ताला लगाइएको हो। सिल गरिएका फार्मेसीहरूमा सीताराम, छिन्नमस्ता, धनगढी माई मेडिकल, सुसंस्कृति, गोल्ड, मित्र र आविष्कार रहेका छन्। औषधि व्यवस्था विभाग विराटनगरका अनुसार सिल गरिएका फार्मेसीहरूले औषधि बिक्रीसम्बन्धी आधारभूत कानुनी मापदण्डसमेत पालना नगरेको पाइएको छ।
मूल्यमा मनपरी असुली गरिएको, बिरामीलाई आवश्यक नपर्ने औषधि समेत किन्न बाध्य बनाइएको र ठगी गरेको स्पष्ट प्रमाण भेटिएपछि कडा कदम चाल्नुपरेको विभागको भनाइ छ। अनुगमनकै क्रममा मित्र फार्मेसीबाट बिरामीलाई अनावश्यक औषधि थमाइएको, अत्यधिक मूल्य लिइएको र गलत परामर्श दिइएको तथ्य खुलेको विभागले जनाएको छ। बिरामी र उनीहरूका आफन्तबाट निरन्तर गुनासो आएपछि यो विषयलाई गम्भीर रूपमा लिएको प्रशासनको भनाई छ ।







