काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मिति आगामी २१ फागुनमा निर्वाचन हुनुपर्ने बताएका छन् ।
स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै पुनले फागुन २१ गते नै प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताएका हुन् ।
पुनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नामेट पार्न खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न देशलाई माया गर्ने राष्ट्रियता पक्षधर शक्तिहरुबीच एकता र सहकार्य जरुरी रहेकामा जोड दिएका छन् । ‘हजारौँको बलिदानीपछि प्राप्त उपलब्धि खतरामा छ । यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ । अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नै नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता, अखण्डताका पक्षधर देशभक्त शक्तिहरू एक ठाउँमा उभिनुपर्छ’, पुनले भने ।
मुलुकको राजनीति अत्यन्तै अस्थिर र तरल अवस्थामा रहेको र कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको पुनले औँल्याए । ‘अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चियजस्तो वातावरण छ । कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न नसकिने अवस्था छ’, उनले भने ।







