काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार नियमनलाई थप सशक्त बनाउने क्रममा उपभोक्ता हितविपरीत कार्य गर्ने तथा तोकिएका मापदण्ड पालना नगरेका ३१ वटा व्यावसायिक इकाइप्रति कारवाही र निर्देशनात्मक कदम अघि बढाएको छ।
विभागद्वारा आइतबार र मंगलबार सञ्चालन गरिएको फरक-फरक अनुगमन कार्यक्रमका क्रममा ती व्यावसायिक फर्ममा अनियमितता तथा कमजोरी देखिएकाले कानुनी प्रावधान अनुसार कारवाही र आवश्यक निर्देशन दिइएको हो।
मंगलबार सम्पन्न अनुगमनका क्रममा भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित खिलुङ कालिका मार्केटिङ प्रालिले उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गरेको पुष्टि भएपछि उक्त कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ। सो फर्मले उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत निषेधित कार्य गरेको देखिएकाले ऐनकै व्यवस्था अनुसार आर्थिक दण्ड गरिएको हो।
यसैबीच, आइतबार गरिएको अनुगमनमा गम्भीर प्रकृतिका कैफियत देखिएका तीन ठूला व्यावसायिक फर्मलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन औपचारिक निर्देशन दिइएको छ। उपस्थित हुन भनिएका फर्ममा ललितपुरस्थित हेलोज मार्ट, काठमाडौँमा दर्ता रहेको वान स्टोर मोबाइल प्रालि तथा ललितपुरकै आभास ट्रेडिङ कम्पनी प्रालि रहेका छन्।
अनुगमनका क्रममा भेटिएका अन्य २७ वटा फर्मलाई तत्काल सुधारात्मक कदम चाल्न सामान्य निर्देशन जारी गरिएको विभागले स्पष्ट पारेको छ। ती फर्महरूमा आयल स्टोर, ग्यास आपूर्तिकर्ता, मोबाइल तथा इलेक्ट्रोनिक्स पसल, खाद्य उत्पादन तथा प्रशोधन उद्योग र पोल्ट्री व्यवसाय सञ्चालन गर्ने इकाइहरू समावेश छन्।
आइतबारको अनुगमनबाट माली आयल स्टोर, श्रेष्ठ आयल स्टोर, मुना ग्यास सप्लायर्स, मोहन ग्यास सप्लायर्स, एप्पल ट्रेड हब प्रालि, ल्यापटप जोन प्रालि, ई-जोन मोबाइल, न्यु वर्ल्ड, शीन इन्टरप्राइजेज, केएम फुड, वैष्णवी इन्टरप्राइजेज, आईटेक इन्टरनेसनल, एलएस मोबाइल, ग्यालेस्टिक ट्रेडिङ तथा मोबिट्रोन नेपाललाई सुधारका लागि निर्देशन दिइएको थियो।
त्यसैगरी मंगलबार गरिएको अनुगमनमा बुचर नेपाल, अरनिको फ्रेस हाउस, चांगाथली लोकल पोल्ट्री, ग्रामीण पोल्ट्री, नमुना पशुपन्छी फर्म, सारथी पोल्ट्री, मेगा पोल्ट्री, लसता स्टोर्स, आश्रय होल्डिङ, प्रकाश ब्रिडिङ फर्म, इच्छानेश्वर खाद्य उद्योग र सत्यपुर खाद्य स्टोरलाई व्यावसायिक प्रक्रिया सुधार गर्न सचेत गराइएको विभागले जानकारी दिएको छ।







