काठमाडौँ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ राष्ट्रिय आर्थिक गणना २०८२ को पूर्वतयारी स्वरूप मुख्य प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।
जिल्ला आर्थिक गणना अधिकारी र गणक-सुपरिवेक्षक तालिम कार्यक्रमका लागि प्रशिक्षक तयार गर्ने तथा स्थलगत तथ्यांक संकलन अनुगमन सहजीकरण गर्ने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । छलफलमा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रविधिमैत्री र विश्वसनीय बनाउने विषयमा जोड दिएको छ ।
यसपालि गणनामा आधुनिक प्रविधि प्रयोग स्वरूप ई-गणनालाई समेत समावेश गरिएको बताइएको छ । जसले कार्यक्षमता र शुद्धता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । प्रशिक्षणमा उच्चस्तरको जवाफदेहिता र विषयवस्तुको सही बुझाइ हुनुपर्नेमा जोड दिइएको छ।
सहभागीलाई प्रशिक्षण सामग्री बुझाइमा देशभरि एकरूपता ल्याउन र प्रभावकारी ढंगमा तालिम प्रदान गर्न निर्देशन दिइएको छ । फिल्डमा आउन सक्ने समस्या पहिचान, समाधान उपाय र सक्रिय सहभागिताका लागि प्रशिक्षक तयार पारिने भएको छ । तथ्यांकको गुणस्तर तालिम गुणस्तरमा भर पर्ने भएकाले यसलाई गम्भीरता साथ लिन आग्रह गरिएको छ ।







