काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि बिक्री खुला भएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयवासी र ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई आजबाट खुलेको हो । प्रभावित स्थानीयका रूपमा दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर ८ तथा कालिन्चोक गाउँपालिका १ र २ का स्थानीय पर्छन् ।
वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् भने प्रभावित स्थानीयले सिंगटीस्थित नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् ।
दुवै समूहले न्यूनतम १० तथा अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।
प्रभावित स्थानीयले छिटोमा फागुन २७ र ढिलोमा चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेकाले छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले दोलखा जिल्लामा बग्ने साँगुखोलाबाट ५ मेगावाट क्षमतामा आयोजना निर्माण गरेको छ ।







