काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि खटाइएका कर्मचारीहरूले मर्यादाक्रम नमिलाई जिम्मेवारी दिइएको भन्दै सेवा-सुविधा बहिष्कार गरेका छन्। ओखलढुंगाको मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकाका विभिन्न शाखामा कार्यरत अधिकृत तथा सहायकस्तरका कर्मचारीहरूले अतिरिक्त सेवा-सुविधा अस्वीकार गर्ने निर्णय गरेका हुन्।
कर्मचारीहरूले निर्वाचनमा जिम्मेवारी पूरा गर्न तयार रहे पनि मयार्दा नमिलाई खटाइएको हुनाले कुनै अतिरिक्त आर्थिक सुविधा नलिने घोषणा गरेको मोलुङ गाउँपालिकाका सूचना अधिकारी सन्तोष गौतमले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगालाई जानकारी गराउँदै मर्यादाक्रम अनुसार जिम्मेवारी नदिएपछि केही कर्मचारीहरूले निर्वाचनमा नजाने घोषणा गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले केही सूची संशोधन गरे पनि कर्मचारीहरूको माग पूरा नभएपछि उनीहरूले सेवा सुविधा अस्वीकार गरेको तर काममा भने खटिएको गौतमले बताए ।
लिखित रूपमै उनीहरूले प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराएका थिए । प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न स्थानीय तहका कर्मचारी खटाउने क्रममा पदअनुसारको मयार्दा क्रम नमिलेको भन्दै उनीहरूले संयुक्तरुपमा लिखित असहमति पेस गरेका थिए ।








