काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यस पटकको चुनावमा एमाले उम्मेदवारहरूको पराजयमा व्यक्तिगत कारण नभएको बताएका छन् ।
रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि पौडेलले देशभर पार्टीले ब्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्यसम्पादनबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताएका हुन् ।
पौडेलले देशभरको निर्वाचनको परिणाम आएपछि पार्टीले गहिरो गरी आत्मसमीक्षा गर्ने उनले बताए ।
बालेन शाहको प्रवेशपछि रास्वपाको पक्षमा आएको देशव्यापी लहरमा मतदाताले अन्य दलका उम्मेदवारको क्षमता, योगदान केही नहेरी चुनाव चिन्हलाई मात्रै हेरेर मतदान गर्दा प्रतिकूल मत आएको उनले दाबी गरे ।
मतदाताको निर्णयलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई सफल कार्यकालको शुभकामना दिँदै उनले सकारात्मक काममा साथ रहने बताए ।
पौडेलले निर्वाचनमा पार्टीले ब्यहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।
पौडेल रास्वपाका सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएका छन् । निर्वाचन आयोगले भने औपचारिक घोषणा गर्न बाँकी छ ।







