काठमाडौँ । बुद्ध एयरले पूर्ण उडान क्षमता पूरा गरेको आफ्नो एटीआर-७२ विमान ‘९एन-एजेओ’ लाई औपचारिक रूपमा सेवामुक्त गरेको छ। कम्पनीले उक्त जहाजलाई नियमित व्यावसायिक उडानबाट हटाउँदै बिदाइ गरिएको जनाएको छ।
एटीआर–७२ विमानको अधिकतम उडान क्षमता करिब ७२ हजार ‘साइकल’ मानिन्छ। उड्डयन क्षेत्रमा ‘साइकल’ भन्नाले एउटा उडान र त्यसपछिको अवतरणलाई जनाउँछ। सो विमान सन् २०१० जुलाई २ देखि व्यावसायिक सेवामा रहेको थियो। करिब १६ वर्ष सञ्चालनमा रहेको उक्त जहाजको अन्तिम उडान २०२६ मार्च ९ मा भैरहवाबाट काठमाडौँसम्म गरिएको थियो।
सञ्चालन अवधिभर यस विमानले करिब २४ लाख ८२ हजार ७७२ यात्रु ओसारेको कम्पनीले जनाएको छ।
विमानलाई बिदाइ गर्ने अवसरमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले उक्त जहाजले नेपालमा हवाई यात्रालाई सहज, किफायती तथा वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको बताए। उनले यस विमानले कम्पनीको बजार विस्तार र विश्वसनीयता वृद्धि गर्न पनि उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै एटीआर विमानको पूर्ण आयु सञ्चालन गर्ने उपलब्धि हासिल गरिएको बताए।
त्यसै अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक टेकनाथ सिटौलाले बुद्ध एयरले हवाई सुरक्षाप्रति देखाएको प्रतिबद्धता, व्यवस्थित मर्मत-सम्भार तथा प्राविधिक व्यवस्थापनका कारण विमानलाई सुरक्षित रूपमा सेवा अवधिको अन्त्यसम्म सञ्चालन गर्न सम्भव भएको बताए।
उक्त विमान निर्माण कम्पनी एटीआरका वरिष्ठ उपाध्यक्ष स्टेफानो माराज्जनीले बुद्ध एयरसँगको सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै विमानले उपयुक्त सञ्चालन वातावरण र दक्ष प्राविधिक व्यवस्थापनका कारण अन्तिम उडानसम्म सुरक्षित सेवा दिन सकेको बताए।
यसअघि पनि बुद्ध एयरले एटीआर-४२ विमानलाई सन् २०२४ सेप्टेम्बर १० मा सेवामुक्त गरेको थियो। हाल कम्पनीले देशभित्रका विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन गर्दै आएको छ। साथै पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुरसम्म उडान सञ्चालन भइरहेको छ। अन्तर्राष्ट्रिय सेवाअन्तर्गत भारतका वाराणसी र कोलकातासम्म पनि उडान भइरहेको कम्पनीले जनाएको छ।







