काठमाडौँ । जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास अनावश्यक रूपमा भण्डारण नगर्न सर्वसाधारण र व्यवसायीलाई सचेत गराएको छ। प्रशासनले सूचना जारी गर्दै हाल जिल्लामा यी सामग्रीको आपूर्ति सामान्य अवस्थामा रहेको उल्लेख गर्दै कृत्रिम अभाव सिर्जना हुने गरी सञ्चय नगर्न अनुरोध गरेको हो।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ र ग्यास संकलन गरी लुकाएर राख्ने तथा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले सञ्चय गरिएको भन्ने गुनासो प्राप्त भएपछि यस्तो सूचना जारी गरिएको हो।
प्रशासनका अनुसार बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास उपलब्ध गराउन सुरु गरिसकेको छ। यससँगै सबै उपभोक्ताले अत्यावश्यक सेवा सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यले पेट्रोल पम्पहरूलाई सवारीसाधन बाहेक ड्रम, जर्किन, बोतललगायतका भाँडामा पेट्रोलियम पदार्थ बिक्री नगर्न निर्देशन दिइएको छ।
यसैगरी कृत्रिम अभाव सिर्जना गर्दै पेट्रोलियम पदार्थ वा ग्यास बढी मूल्यमा बिक्री नगर्न पनि प्रशासनले आग्रह गरेको छ। जारी सूचनाको अवहेलना गर्दै कालोबजारी वा अभाव सिर्जना गरेको पाइएमा कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।







